भदौ ३०, २०८३ मंगलबार

चितवन, ३० भदौः यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् । 

    उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आउनुभएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्नुहुन्छ । आफ्नो उमेरको ४५ वर्ष यही बिताउनुभएकी उहाँ भोटेकोशी बाढीपछि झस्कन थाल्नुभएको छ । उहाँले भन्नुभयो, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले उहाँलाई सताइ रहेको छ । ” 

    
    मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आउनुभएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउनुहुन्छ  । यही भदौ १० गतेदेखि उहाँले न फोन अफ गर्न सक्नुभएको छ, न त रातिमा राम्रोसँग निदाउनुभएको छ  । उहाँले भन्नुभयो, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ ।” अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उहाँले बताउनुभयो । 

    अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । अझै चिन्तामा बस्नुपरेको बताउँदै उहाँले अब केही राहत हुन्छ की भन्ने लागेको बताउनुभयो । उहाँले थप्नुभयो, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।”
    स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आउनु भएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उहाँलाई सताइ रहेको छ । खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उहाँलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ । 

    साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उहाँले दुःखेसो सुनाउनुभयो । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उहाँले गुनासो गर्नुभयो ।
त्रिशूलीमा ‘¥याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आउनुभएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा हुनुहुन्छ । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उहाँले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उहाँले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताउनुभयो ।

    अहिले पृथ्वि राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो ।