भेषराज बस्नेत
राँझा (बाँके), ३० भदौः भौगोलिकता र मौसमी प्रतिकूलताका हिसाबले विपद्को उच्च जोखिममा रहेको बाँकेको राप्ती सोनारी गाउँपालिका विपद्सँग जुध्न उद्धार र राहतदेखि नमुना अभ्याससम्मको पूर्वतयारी गरेको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै उर्लेर आउने राप्ती नदी र खहरे खोलाहरूले यहाँको जनजीवन अस्तव्यस्त बनाउँछन् । मानवीय बस्ती डुबानमा पर्नु, खेतीयोग्य जमिन कटान हुनुका साथै विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता पूर्वाधारमा क्षति पुग्नु यहाँको वार्षिक नियतिजस्तै बनिसकेको छ । तर यसपटक भने गाउँपालिका विपद् आइपरेपछि मात्रै जाग्ने पुरानो शैली बदलेर पूर्वतयारी र प्रतिकार्यमा व्यवस्थित रूपमा जुटेको छ ।
राप्ती सोनारी सबैखाले विपद्बाट प्रभावित हुने क्षेत्र भएकोले यसवर्ष गाउँपालिकाले एकीकृत विपद् प्रतिकार्य योजना नै तयार पारेर प्राकृतिक विपद्सँग जुध्ने पूर्वतयारी गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेले बताउनुभयो । प्राकृतिक विपद्मा पछिल्ला वर्षहरूमा अपनाइएका सजगताका कारण क्षति घट्दै गएको उहाँको भनाइ छ ।
गाउँ–गाउँमा विपद्का बेला खटिने उद्धार टोली
राप्ती सोनारी गाउँपालिकाले विपद् पर्दा समुदायस्तरमा घटनास्थलमा खटिनसक्ने स्थानीय जनशक्ति तयार गरेको छ । बाढी, डुबान, आगलागी अथवा भूकम्पलगायतका प्राकृतिक विपद् परेपछि बाहिरबाट उद्धार टोली आइपुग्न समय लाग्छ । त्यही समयभित्र घाइतेको अवस्था बिग्रिन सक्छ । यही जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाका सबै वडामा खटिने गरी ४९ जना स्वयंसेवक तयारी अवस्थामा रहेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो ।
“प्राकृतिक विपद् पर्दासाथ सुरक्षाकर्मी नपुग्दासम्म समुदायमा के कसो गर्ने भन्ने अलमल हुने गर्दथ्यो, अब त्यस्तो अवस्था छैन”, अध्यक्ष पौडेलले भन्नुभयो, “अहिले बाढीमा फसेकाको उद्धारदेखि आगलागी नियन्त्रण र घाइतेलाई प्राथमिक उपचार दिने सीपसहित विपद् व्यवस्थापन स्वयंसेवक तयार भएका छन्, सुरक्षाकर्मी नपुग्दासम्म उनीहरुले विपद् व्यवस्थापनको काम गर्न सक्षम भएका छन् ।”
गाउँपालिकाले सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्व गण शम्शेरगञ्जसँगको साझेदारीमा सञ्चालन गरेको १८ दिने तालिमपछि उनीहरू गाउँपालिकास्तरीय विपद् व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन भएका छन् । तालिममा विपद् व्यवस्थापनका कुरा कक्षाकोठामा सुन्ने र टिपोट गर्नेमा मात्र सीमित नगरी सम्भावित घटनास्थलमै उत्रिएर कसरी उद्धार गर्ने भन्ने अभ्यास पनि गराइएको सशस्त्र प्रहरी बलको ४२ नम्बर रिजर्व गण शम्शेरगञ्जका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम रावतले बताउनुभयो ।
उहाँका अनुसार बाढीमा फसेका व्यक्तिलाई सुरक्षित स्थानमा निकाल्ने, घरमा लागेको आगो नियन्त्रण गर्ने, पानी प्रयोग गर्न नमिल्ने ठाउँमा आगो निभाउने तरिका तथा भूकम्पपछि भत्किएको संरचनाबाट घाइतेको उद्धार गर्ने अभ्यास स्वयंसेवकले तालिमका क्रममा सिकेका छन् ।
“दुर्घटना वा विपद्मा घाइते व्यक्ति अस्पताल पुग्नुअघि नै जीवन गुमाउने जोखिम हुन्छ । त्यस्तो अवस्थामा सानो उपचार पनि निर्णायक हुन सक्छ, त्यसैले तालिममा सीपीआर अर्थात् मुटु तथा श्वासप्रश्वास रोकिएको अवस्थामा गरिने जीवनरक्षक विधिको समेत सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो”, उहाँले भन्नुभयो, “घटनास्थलमा पुगेपछि घाइतेको अवस्था पहिचान गर्ने, आफू सुरक्षित रहेर उद्धार गर्ने, घाइतेलाई प्राथमिक उपचार दिने र आवश्यक परे स्वास्थ्य संस्था वा थप उद्धार टोलीसम्म सुरक्षित रूपमा पु¥याउने विषयमा स्वयंसेवकलाई अभ्यास गराइएको छ ।”
राप्तीसोनारी गाउँपालिका–२ निवासी तालिम प्राप्त विपद व्यवस्थापन स्वयंसेवक रती वलीले तालिम लिएपछि उद्धार कार्यमा धेरै सीप जानकारी भएको बताउनुभयो । उहाँले तालिम लिएर आफ्नो समुदायमा विपद् उद्धार कार्यमा खटिएर सहयोग गर्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो ।
विपद् व्यवस्थापनसम्बन्धी कार्यरत संस्था सामाजिक विकास मञ्च बाँकेका स्रोत व्यक्ति घनश्याम उपाध्यायले विपद्को पहिलो प्रतिकार्यमा स्थानीय जनशक्तिको भूमिका महत्वपूर्ण हुने भएको उल्लेख गर्दै बाहिरबाट उद्धार टोली घटनास्थलमा पुग्नुअघि नै स्थानीय स्वयंसेवकले प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सके क्षति कम गर्न सकिने बताउनुभयो । “विपद्का बेला तत्काल परिचालन हुन सक्ने दक्ष जनशक्ति स्थानीयस्तरमै तयार गर्नु तालिमको उद्देश्य हो”, उपाध्यायले भन्नुभयो, “व्यावहारिक सीप भएका स्वयंसेवक परिचालनबाट राप्ती सोनारीमा समुदायको विपद् सामना गर्ने क्षमता बलियो भएको छ ।”
राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार चौधरीले विपद् व्यवस्थापनमा बाह्य उद्धार टोलीको भर पर्नुभन्दा पहिले स्थानीय समुदायलाई नै प्रतिकार्यका लागि तयार पार्ने कार्य प्रभावकारी भएको बताउनुभयो । “बाहिरबाट उद्धार टोली आइपुग्नुअघि स्थानीयस्तरमै प्रारम्भिक उद्धार र प्राथमिक उपचार गर्न सक्ने जनशक्ति चाहिन्छ”, उहाँले भन्नुभयो, “सबै वडाबाट स्वयंसेवक सहभागी गराएर तालिम दिइएकाले विपद्का बेला पालिकाको प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।”
राप्ती सोनारी गाउँपालिकामा बाढी, पहिरो र सडक अवरोधदेखि आगलागी, सर्पदंश तथा भूकम्पसम्मका जोखिम रहेको छ । विपद्का बेला सडक अवरुद्ध हुँदा उद्धार टोली तत्काल घटनास्थल पुग्न नसक्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थामा घटनास्थल नजिकै रहेका प्रशिक्षित स्वयंसेवक नै पहिलो सहारा बन्न सक्ने वडाध्यक्ष चौधरीको भनाइ छ ।
गाउँगाउँमा सुरक्षित आश्रयस्थल निर्माण
राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपदको बेला गाउँ गाउँमा प्रभावितलाई राख्न सकिने सुरक्षित आश्रयस्थल निर्माण गरेको छ । विपद् व्यवस्थापनलाई मध्यनजर गरेर राप्ती सोनारीमा हाल करिब एक हजार पाँच सयदेखि दुई हजार जनासम्मलाई राख्न सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल निर्माण गरेको गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताउनुभयो । उहाँका अनुसार, राप्ती सोनारी गाउँपालिकामा अहिले पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा भवन निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका पाँच आश्रयस्थलमा करिव दुई हजार जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ ।
राप्ती सोनारी गाउँपालिकामा वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको छ । “राप्ती सोनारी सबैखाले विपद्बाट प्रभावित हुने गाउँपालिका हो, वर्षायाममा राप्ती नदी र विभिन्न खहरे खोलाको बाढीले मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने र विद्यालय, स्वास्थ्य संस्था तथा सडकजस्ता संरचनामा क्षति पुग्ने सम्भावना रहन्छ”, उपाध्यक्ष थारुले भन्नुभयो, “पछिल्ला वर्षमा जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण र विपद् प्रतिकार्यका योजना अघि बढाइएकाले जोखिम केही कम हुँदै गएको छ ।”
गाउँपालिकाले यस वर्ष विपद् प्रतिकार्य योजनासमेत तयार गरेको छ । बाढी तथा डुबान भए प्रभावितलाई उद्धार गरी सुरक्षित आश्रयस्थलमा राख्ने, स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउनेदेखि मनोसामाजिक परामर्शसम्मका लागि तयारी गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । उहाँका अनुसार स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ । वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति तथा गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ ।
बाढी पूर्वानुमानमा आधारित कृत्रिम अभ्यास
विपद् व्यवस्थापनका लागि पूर्वतयारी कति मजबुत छ भन्ने परीक्षण गर्न राप्ती सोनारीले हालै बाढी पूर्वानुमानमा आधारित ‘कृत्रिम घटना अभ्यास’ सञ्चालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको नयाँ कार्यविधि कार्यान्वयन गर्दै स्थानीय तहका रूपमा यस्तो नमुना अभ्यास गर्ने राप्ती सोनारी देशकै पहिलो पालिका बनेको छ ।
राप्ती सोनारी गाउँपालिकाले आयोजना गरेको बाढी पूर्वानुमानमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रममा सहभागी हुनुभएकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमा चेम्जोङले विपद्को उच्च जोखिममा रहेको राप्ती सोनारी गाउँपालिकाले विपदसँग जुध्न आवश्यक पूर्व सतर्कता अपनाएको बताउनुभयो । उद्धार र राहतदेखि विपद्का क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्था, सुरक्षा निकाय तथा तीनै तहका सरकारले आ–आफ्नै तरिकाले गर्दै आएको कृत्रिम घटना अभ्यासमा एकरुपता ल्याउने उद्देश्यले पहिलोपटक कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको कार्यविधि अनुसार राप्ती सोनारीले आवश्यक तयारी गरेको पाईएको उहाँको भनाइ छ ।
उहाँका अनुसार, गत वैशाख ३१ गते कार्यकारी समितिबाट पारित भएको कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३ ले सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहमा हुने अभ्यासलाई व्यवस्थित र एकरुप बनाएको छ । “यसअघि विभिन्न सङ्घसंस्था र तीनै तहका सरकारले आफ्नै तरिकाले कृत्रिम घटना अभ्यास गर्दै आएका थिए । अहिले कार्यविधि बनेपछि सबै निकायले गर्ने अभ्यासमा एकरूपता ल्याउन खोजिएको हो,” चेम्जोङले भन्नुभयो, “विपद् आइहाल्यो भने उद्धारका लागि सङ्घ, प्रदेश र स्थानीय तहको क्षमता कस्तो छ भनेर मापन गर्न र आवश्यक क्षमता अभिवृद्धि गर्न पनि यसले सहयोग गर्छ ।”
बाँकेमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सामाजिक विकास मञ्चका परियोजना स्रोत व्यक्ति घनश्याम उपाध्यायले कृृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि–२०८३ बमोजिम नेपालमै पहिलोपटक राप्तीसोनारी गाउँपालिकामा गरिएको बाढी कृत्रिम घटना अभ्यास कार्यक्रमले बाढी आइहालेमा त्यसको प्रतिकार्य परीक्षण भएको बताउनुभयो । राप्ती सोनारीमा गरिएको यो अभ्यासले विपद्को समयमा सुरक्षा निकाय, स्थानीय सरकार, स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था र समुदायबीचको समन्वय कति महत्वपूर्ण हुन्छ भन्ने सन्देशसमेत दिएको उहाँको भनाइ छ ।
बाढी आएपछि उद्धार गर्नुभन्दा बाढी आउनुअघि नै समुदायलाई तयार बनाउने, उद्धार टोलीको क्षमता परीक्षण गर्ने, आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्ने पूर्वतयारीलाई प्रभावकारी बनाउन यस्ता अभ्यास उपयोगी हुने राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार चौधरीले बताउनुभयो ।