बनेपा (काभ्रे), ३० भदौ : बनेपाका नेवार समुदायले चथा पर्व सम्पन्न गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भाद्र शुक्ल चतुर्थी आज परे पनि चतुर्थी तिथि हिजो सोमबार साँझदेखि सुरु भएकाले नेवार समुदायले चथा पर्व हिजै मनाएका हुन् ।
नेवार समुदायको मौलिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने चथामा विशेष विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । चथा पर्वमा गणेशको पूजा आराधना गरिन्छ । घरको आँगन, कौसी वा पूजा गर्ने स्थान सफा गरी परिवारका सदस्य एकै ठाउँमा बसेर विभिन्न पूजा सामग्री राखी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
पूजामा विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिन्छ । पूजाका लागि अदुवाको बोट, स्याउ, मौसम, अम्बा, काक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीउ, फर्सीको बीउलगायत सामग्री राख्ने परम्परा छ । घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूललाई पूजा सामग्रीका रूपमा प्रयोग गर्ने गरिन्छ । चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको सम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ ।
वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले समेत चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जङ्गमले बताउनुभयो ।
चथा पर्वसँग चन्द्रमाससम्बन्धी धार्मिक विश्वास जोडिएको छ । यस दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ । चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने धार्मिक मान्यता रहेकाले पूजा गर्दा आकाशतर्फ नहेर्ने परम्परा छ ।