काठमाडौँ, ३० भदौः प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनः निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) अर्यालसँग आज भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ती विषयमा ध्यानाकर्षण गराउनुभएको हो । नेता आङदेम्बेका अनुसार विगतमा तय भएर हुन नसकेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राख्न सरकारसँग समन्वय गर्न सभामुख अर्याललाई आफूले ध्यानाकर्षण गराएको बताउनुभयो । यही भदौ १० गते संसदमा प्रधानमन्त्री वालेन्द्र शाहसँग संसद्मा प्रश्नोत्तर राखिएकामा उक्त दिन सदन कोटेकोशी बाढीका कारण प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको थियो ।
नेता आङदेम्बले प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभाका लागि संयुक्त राज्य अमेरिका जानु अगावै राख्न आग्रह गरेको र त्यसमा सभामुख अर्याल सकारात्मक रहेको जानकारी दिनुभयो । आङदेम्बले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आएको प्रस्ताव बमोजिम बाढीपछिको अवस्थालाई समग्र अगुवाइ गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन आफूहरूले गरेको सहमति पनि पालना हुनुपर्नेमा जोड दिनुभयो ।
“विपत्तिका समयमा राज्य र सबै दल एक ठाउँमा छन् भन्ने सन्देश हामीले दिनुपर्छ । त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय सयन्त्र गठन गरेर उद्धार, राहत, पुनः निर्माणका काममा सहजीकरण गर्नुपर्छ”, नेता नेम्वाङले भन्नुभयो, “हामीले विपक्षीका तर्फबाट सदन र सरकारको ध्यानाकर्षण गराउने काम गरिरहनेछौँ । सरकारले सुनुवाइ गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।”