भदौ ३०, २०८३ मंगलबार

    भक्तपुर, ३० भदौः गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण गरिएको छ ।

    भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका उपलक्ष्यमा सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीयले गणेश मन्दिरमा पूजाआराधाना गरी गणेशको चाँदीको मूल मूर्तिलाई खटमा राखेर रथारोहण गराएका हुन् ।

    यसअघि वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गणेशको पुजा गरी रथारोहणको प्रारम्भ गर्नुभएको थियो । 

    त्यस्तै सङ्घीय सांसदद्वय रुकेश रंजित र राजिब खत्री, पूर्व सांसद दूर्लभ थापा तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले गणेशको पुजाअर्चना गरेपछि जात्रा सुरुभयो । 

    मन्दिरको मुल ढोकामै गणेशलाई बिभिन्न परिकारका प्रसाद चढाएर पछि रथलाई बोकेर सिन्दुर खेल्दै रथ यात्रा सुरु गरिएको जात्रा आयोजक सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । 

    स्थानीय विभिन्न टोलको परिक्रमापछि रथ जात्रा पुनः मन्दिरमा ल्याइने र साँझ पूजा एवं आरतीपछि मूर्तिलाई पुरानै स्थानमा प्रतिस्थापन गरिने छ । जात्रा वडा नं ६ र ८ को आर्थिक सहयोगमा विस २०७८ बाट मनाउन सुरु भएको थियो ।