भदौ ३०, २०८३ मंगलबार

ख्वप (भक्तपुर), ३० भदौः जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपद्का सामग्री हस्तान्तरण गरेको छ । उद्धार तथा खोजलाई प्रभावकारी बनाउन जिल्लाका सुरक्षा निकायलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । 
     
    भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्ला प्रशाशन कार्यालयमा आज सेफ्टी बेल्ट, फायर बल, इलेक्ट्रिक कटर, आल्मुनियम भ¥याङ, पेट्रोल कटर, मेघाफोन, फोल्डिङ स्ट्रेचर, बन्चरो र सर्च लाइटलगायत सामग्री जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई उपलव्ध गराउनुभएको हो ।  

    प्रमुख जिल्ला अधिकारी खड्काले गृह मन्त्रालयबाट प्राप्त नौ लाख रुपैयाँबाट उक्त सामग्री खरीद गरिएको जानकारी दिनुभयो । 

    प्रमुख जिल्ला अधिकारी खड्काले विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षा निकायलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । 
    
    उपलब्ध उद्धार सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोग गर्दै विपद्का बेला छिटो तथा सुरक्षित रूपमा उद्धार कार्य सञ्चालन गर्न उहाँले सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभयो । 
    
    भक्तपुरमा बाढी, डुबान, पहिरो तथा संरचना भत्किनेलगायत विपद्को जोखिम रहने भएकाले उद्धार सामग्रीको उपलब्धताले सम्भावित विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वयमा विपद् पूर्वतयारी, खोज तथा उद्धार र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
---