जनकपुरधाम, १ असोजः मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी ६५ वर्षीया प्रदेशसभा सदस्य खातुनको आज निधन भएको फतुवा विजयपुर नगरपालिकाका उपप्रमुख अमबेय खातुनले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार साँझ उच्च रक्तचाप र मधुमेह बढेर बेहोस हुनुभएका प्रदेशसभा सदस्य खातुनलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो ।
खातुन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । उहाँको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।
सभामुखद्वारा शोक व्यक्त
यसैबीच मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मधेस प्रदेशसभा सदस्य खातुनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभामुख यादवले आज शोक सन्देश जारी गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
–––