असोज १, २०८३ बिहिबार

सुनसरी, १ असोजः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । 

    आज बृहत्तर बराहक्षेत्र विकास समिति चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै उहाँले बराहक्षेत्र क्षेत्रलाई धार्मिक तथा पर्यटन सर्किटका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । 

    मुख्यमन्त्री कार्कीले भन्नुभयो, “बराहक्षेत्रको धार्मिक महत्वलाई पर्यटनसँग जोडेर पूर्वाधार विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ ।” धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रको समग्र विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । 

    मुख्यमन्त्री कार्कीले बराहक्षेत्रमा आयोजना हुँदै आएको कुम्भ मेलासहित यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सके आर्थिक गतिविधि बढ्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना हुने बताउनुभयो । यहाँको धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई संरक्षण गर्दै योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।