असोज १, २०८३ बिहिबार

काठमाडौँ, १ असोजः नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरू बेपत्ता छन् । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदारको बेपत्ता छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी/कामदारका आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताउनुभयो । उहाँका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रतिकर्मचारी/कामदार रु ५० हजार उपलब्ध गराउने निर्णय भएको छ ।

    दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाका लागि बेपत्ता भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाहस्वरूप उपलब्ध गराउने निर्णय भएको छ । 
---