झापा, २ असोजः जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा स्वास्थ्यचौकीमा झापा जिल्लास्तरीय खोप अभियानको उद्घाटन गरिने उहाँले बताउनुभयो ।
मेचीनगरमा चालु आर्थिक वर्षमा छ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भइसकेको छ भने अरुको विभिन्न अस्तालमा उपचार भइरहेको उहाँले बताउनुभयो । आव २०८१/८२ र आव २०८२/८३ मेचीनगरमा यही रोगको सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको थियो । भारतको पश्चिम बङ्गाल र बिहार प्रान्तसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरलाई संवेदनशील मानिएको छ ।
मेचीनगरको पाँचवटा वडामा रोगको सङ्क्रमण देखापरेको छ । खोप केन्द्रसम्म ज्येष्ठ नागरिकलाई ल्याउन आवश्यक परेमा सिटी सफारी र टेम्पोको प्रयोग गर्नेगरी तयारी भएको मेतीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले बताउनुभयो । झापामा चालु आवभित्र १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिनुभयो ।