असोज ४, २०८३ आइतबार

पाल्पा, ४ असोजः यहाँको तानसेन नगरपालिका-८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ । 

    पूर्वखोला गाउँपालिका-४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिनुभयो ।

    बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे१ज ९७६ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना हुँदा खाम्चा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा चालकसहित पाँच जना घाइते रहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । 

    उहाँका अनुसार पूर्वखोला गाउँपालिका-१ का २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका-४ घर भई हाल तानसेन नगरपालिका-४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उहाँकी सात वर्षीया छोरी साहिरस सारु र मृतक अनुसरा खाम्चाकी पाँच वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् । 

    घाइते पाँचै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।