असोज ६, २०८३ बुधबार

भद्रपुर (झापा), ६ असोजः झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ मा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको डल्फिन यातायातको बस आज अनियन्त्रित भई सडकको ‘डिभाइडर’मा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा गौरादह नगरपालिका–२ का ३० वर्षीया सुष्मा दर्जी र ४० वर्षीया मिना दर्जी, पथरीशनिश्चरे नगरपालिका–१ मोरङका ३२ वर्षीय समीर पोखरेल, सुनसरीको लौकही–६ का ३० वर्षीय महमद जम्सिर, उर्लाबारी नगरपालिका–९ का ३६ वर्षीया पार्वता लिम्बू र उर्लाबारी नगरपालिका–५ का ५० वर्षीय दीपक भुजेल घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घाइतेमध्ये जम्सिरको ओँठमा र लिम्बूको बायाँ आँखामा चोट लागेको छ भने अन्यको बाहिरी चोट देखिएको छैन । सबै घाइतेको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।
–––