नारायणगढ (चितवन), ६ असोजः बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले स्वास्थ्य संस्थामा उपचारका लागि आउने सेवाग्राहीले भोग्दै आएको झन्झटको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।
जनस्वास्थ्य कार्यालय चितवनद्वारा भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले स्वास्थ्य संस्था तथा अस्पतालको क्षमता विस्तारसँगै सेवाको गुणस्तर सुधार र नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य सेवालाई पूर्ण रूपमा ‘डिजिटल’ प्रणालीमा लैजानुपर्नेमा जोड दिँदै मन्त्री तामाङले भन्नुभयो, “हामीले डिजिटल सेवाको कुरा गरे पनि व्यवहारमा अझै पुरानै ढर्राबाट सेवा प्रवाह भइरहेको छ ।”
दूरदराजबाट आउने बिरामीले कुन ठाउँबाट कसरी सेवा लिने भन्ने बारेमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उहाँले त्यस्ता बिरामीको सहजीकरणका लागि छुट्टै कर्मचारी खटाएर सेवा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा राख्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रका तथ्याङ्क स्पष्ट र तथ्यपरक हुनुपर्नेमा जोड दिँदै कर्मचारीमा नैतिकता र इमानदारी भएमा मात्रै जनताले गुणस्तरीय सेवा पाउने बताउनुभयो ।
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा वसन्त अधिकारीले आधारभूत स्वास्थ्य सेवालाई सुदृढ बनाउनु स्थानीय तहको प्रमुख दायित्व भएको बताउनुभयो । प्रदेश सरकारले सङ्घ र स्थानीय तहसँग समन्वय गरी आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेले जिल्लामा सञ्चालित विभिन्न स्वास्थ्य गतिविधि तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
–––