महेन्द्रनगर, ८ असोजः नेपाली सेनाले कञ्चनपुर र कैलालीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट दुई वर्ष पाँच महिनाको अवधिमा एक हजार २४६ जना लाभान्वित भएका छन् ।
कञ्चनपुरको मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको अर्जुनी ब्यारेक परिसर र कैलालीको बडैपुरस्थित कालीरक्षा गण परिसरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ ।
कालीरक्षा गणले सर्पदंश उपचार केन्द्रबाट गत वैशाखयता १०६ महिला र ७२ पुरुषको उपचार गरेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।
सेनाको तथ्याङ्कअनुसार विसं २०८१ मा २६२ जना, विसं २०८२ मा २४६ जना र विसं २०८३ को हालसम्म १७८ जनाको सफल उपचार गरिसकेको छ । सेनाले कैलाली र कञ्चनपुरसहितका जिल्लामा पनि सेनाले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सर्पदंशसम्बन्धी चेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ ।
त्यस्तै कञ्चनपुरको अर्जुनीमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट पनि स्थानीयवासी लाभान्वित हुनुभएको छ । नेपाली सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा विसं २०७१ मा स्थापना भएको उपचार केन्द्रले हालसम्म दुई हजार बिरामीको उपचार गरिसकेको छ ।
यहाँस्थित रणसिंह दल गण मझगाउँ ब्यारेकका अनुसार स्थापनाकालदेखि नै उपचार केन्द्रबाट चौबिसै घण्टा सेवा प्रवाह हुँदै आएको छ ।
उपचार केन्द्रलाई औषधि तथा उपकरण बेदकोट र शुक्लाफाँटा नगरपालिका, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।
अर्जुनी उपचार केन्द्रमा विसं २०८१ मा २०८ जना, विसं २०८२ मा ६० जना र विसं २०८३ को वैशाखयता हालसम्म ६६ महिला र ४८ पुरुष सर्पदंशका बिरामी लाभान्वित भएका छन् । यता सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिमका सबै जिल्लामा सर्पदंश उपचार सेवा रहेको जानकारी दिनुभयो ।
उहाँले प्रादेशिक र जिल्ला अस्पतालका साथै भौगोलिक रुपले विकट क्षेत्रमा पनि सर्पदंशको उपचारको प्रबन्ध रहेको बताउनुभयो । “कञ्चनपुरको दोधारा चाँदनीदेखि, बेलौरी, बेल्डाँडीदेखि बैतडीको मेलौरी र गोकुलेश्वरलगायतका क्षेत्रसम्म यसको उपचारका लागि स्वास्थ्य संस्थामा सहजता गरिएको छ ।” उहाँले भन्नुभयो, “पहाडको तुलनामा तराईका जिल्लामा सर्पदंशका बिरामीको चाप गर्मीयाममा बढी रहने गर्छ ।”