असोज ८, २०८३ बिहिबार

बाँके, ८ असोजः बाँकेमा विपदको पूर्वतयारी र प्रतिकार्यका लागि सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको जोखिम अवस्था विश्लेषण गर्दै सुरक्षित आश्रयस्थल व्यवस्थापन र खुलास्थानको प्रबन्ध गर्ने निर्णय गरिएको छ ।  

    यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने प्रक्षेपणपछि बाँकेमा जिल्लास्थित सरोकारवालाको आजको बैठकले वर्षाका कारण सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरणहरु तयारी अवस्थामा राख्ने निर्णय गरेको आपत्कालीन कार्यसञ्चालन सूचना केन्द्रका सम्पर्क व्यक्ति रुपन ज्ञवालीले जानकारी दिनुभयो । 

    बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालले द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्नेमा जोड दिँदै नेपाल रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सङ्घ, संस्थाले विपद् प्रतिकार्य, उद्धार र राहत व्यवस्थापन लगायतका विषयमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्ने निर्णय पनि गरेको छ । 

    बैठकले जिल्लाका आठ स्थानीय तह र विषयगत कार्यालयहरुले सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमयुक्त बस्तीको जोखिम अवस्था विश्लेषण गरी निगरानी बढाउन जोड दिइएको छ ।  विद्युत्, खानेपानी, दूरसञ्चार लगायतका अत्यावश्यक सेवा पुनः सञ्चालन राख्न सम्बन्धित निकायले जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने उल्लेख गर्दै सतर्कतासम्बन्धी सूचना प्रचार तथा प्रसार गर्ने कार्यमा सञ्चारमाध्यमले सहयोग गर्ने निर्णय भएको सम्पर्क व्यक्ति ज्ञवालीले बताउनुभयो । 

    सो बैठकमा प्रजिअ तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री र अमरबहादुर वली, बज्रदल गणका सेनानी ज्योतिकुमार कार्की, ३० नं गणका सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायत सराकारवालाहरुको सहभागिता थियो । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा ८२४ वटा विपद्का घटना भएका छन् । 

    यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार नेपालगन्जमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय बन्दसँगै विद्यालय तीन दिन बन्द रहने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर खत्रीले शिक्षा मन्त्रालयको परिपत्रअनुसार सम्भावित भारी र अति भारी वर्षाबाट आउन सक्ने जोखिमलाई ध्यान दिएर एक दिन विद्यालय बन्दको निर्णय भएको जानकारी दिनुभयो ।