असोज ८, २०८३ बिहिबार

ताप्लेजुङ, ८ असोजः ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको छ । स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीले बजार क्षेत्रका केही घर जलेका छन् ।
 
    आज दिउँसो अचानक आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । यद्यपि विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयवासीले समेत नियन्त्रणको प्रयासमा सहयोग गरिरहेका छन् ।
 
    अन्य घरमा आगो फैलिन नदिन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो । “घटनास्थलमा दमकलसमेत पठाइएको उहाँले बताउनुभयो । आगलागीले कति घर जलेका भन्ने विवरण आएको छैन । आगो अहिले पनि लागिरहेको स्थानीयले बताएका छन्”, उहाँले भन्नुभयो ।
 
    यसअघि पनि विसं २०७७ मा दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका-३ मा पर्ने दोभान बजार जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित छ ।