असोज ८, २०८३ बिहिबार

कोलम्बो, २४ असोज :  श्रीलङ्काका करिब ६४ प्रतिशत विद्यालय जाने उमेर नपुगेका साना बालबालिकाले मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरमा तोकिएको औसत समयभनदा बढी बिताउने गरेका पाइएको छ । 

विश्व स्वास्थ्य संगठनले साना बालबालिकालाई डिजिटल स्क्रिन प्रयोग गर्न दैनिक ३० मिनेटभन्दा कम समय सिफारिस गरेको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव अनिल जसिङ्गेले विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाका लागि तोकेको औसत समयभन्दा बढी समय स्क्रिनमा बिताउँदा उनीहरूको मानसिक स्वास्थ्यका साथै आखा कमजोर हुने सम्भावना रहने बताउनुभएको छ ।  

मन्त्रालयको एक सर्वेक्षणले करिब ४३ प्रतिशत बालबालिकाले स्क्रिन हेर्दै खाना खाने गरेको पनि देखाएको छ। 

सर्वेक्षणले करिब ५६ प्रतिशत अभिभावक वा हेरचाहकर्ताले विद्यालय पूर्वको उमेर समूहका बालबालिकासँग रिसाउने गरेको देखाएको उहाँले रिपोर्टलाई उद्धृत गरी जानकारी गराउनुभयो । यसले बालबालिकाको हेरचाहसम्बन्धी चिन्तालाई पनि उजागर गरेको सचिव जसिङ्गेले बताउनुभयो । 

रिपोर्ट बालबालिकाका अभिभावकमध्ये आमाको तुलनामा उनीहरूका बुवाको हेरचाह समय निकै कम रहने गरेको देखाएको छ । उनीहरू केवल करिब ५३ प्रतिशत मात्रै आफ्ना बच्चाहरूको हेरचाहमा नजिकबाट संलग्न हुने गरेका रिपोर्टले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले यी निष्कर्षहरूको प्रतिक्रियास्वरूप विद्यालय जाने उमेर समूहका बालबालिकाका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम र दिशानिर्देशहरू जारी गरेको पनि जसिङ्गेले बताउनुभयो ।