असोज ९, २०८३ शुक्रबार

इस्लामावाद, ९ असोज : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले सेप्टेम्बर २७ मा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)ले गर्ने विरोध प्रदर्शनका क्रममा अडियाला जेलतर्फ मार्च नगर्न समर्थकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले प्रदर्शनलाई आधार बनाएर जेलमा ‘प्रतिआक्रमण’ हुनसक्ने र त्यसबाट आफ्ना बुबाको जीवन जोखिममा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

    सामाजिक सञ्जाल एक्समार्फत कासिमले जेलनजिक पदयात्रा वा प्रदर्शन नगर्न आफूलाई निर्देशन दिइएको बताउँदै विरोधका क्रममा आफ्ना बुबासँग कुनै ‘दुर्घटना’ हुने अवस्था सिर्जना नगर्न आग्रह गर्नुभयो । इमरान खान सन् २०२३ को अगस्टदेखि विभिन्न मुद्दामा दोषी ठहरिएपछि जेलमा रहनुभएको छ ।

    यसैबीच, पिटिआईको प्रदर्शनलाई ध्यानमा राख्दै पञ्जाबमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रान्तीय सरकारले सेप्टेम्बर २३ देखि अक्टोबर ५ सम्म धारा १४४ लागू गर्दै पाँच वा सोभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ । रावलपिन्डी, अटक, झेलम र मियाँवालीमा पाकिस्तानी रेन्जर्स परिचालन गर्नसमेत माग गरिएको छ ।

    प्रान्तीय सूचनामा आतङ्कवादी सङ्गठन तथा शत्रुतापूर्ण गुप्तचर निकायबाट सार्वजनिक शान्ति र सुरक्षामा ‘गम्भीर र आसन्न खतरा’ रहेको उल्लेख गरिएको छ ।

    प्रदर्शनको तयारीसँगै इमरानका बहिनीहरू अलीमा, उज्मा र नोरीनको हिरासतको विषय पनि चर्चामा छ । उज्मा र नोरीनलाई ३० दिनका लागि हिरासतमा राखिएको छ भने लाहोर उच्च अदालतले उनीहरूको नजरबन्द आदेश तत्काल निलम्बन गर्न अस्वीकार गर्दै अधिकारीहरूको जवाफ मागेको छ ।

    पाकिस्तानी अधिकारीहरूले प्रदर्शनअघि लगाइएका प्रतिबन्धलाई सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने उपायका रूपमा व्याख्या गरेका छन् ।