असोज १०, २०८३ शनिबार

भक्तपुर, १० असोज : इन्द्र जात्रा सुरु भएदेखि भक्तपुरको इन्द्र दह अर्थात् सिद्धपोखरीमा लागेको मेला आज साँझ बाजागाजाका साथ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृहमा भित्र्याएर सम्पन्न भएको छ ।

    भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैदेखि दिनभर इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लागेको थियो । आज साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न भएको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

    इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित शुक्रबार साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराइ ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात् सिद्धपोखरीमा पुर्‍याइ साँझदेखि सुरु भएको मेला आज इन्द्र दहबाट देवतालाई खटमा राखेर नगर परिक्रमा गरि देवगृहमा प्रवेश गराएर सम्पन्न गरेको छ । 

    नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएको प्रा डा श्रेष्ठको भनाइ छ । 

    स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।

    कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरूप इन्द्रदहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रूपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।