असोज ११, २०८३ आइतबार

काठमाडौँ, ११ असोजः ४७औँ विश्व पर्यटन दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाइने गरिन्छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्था (युएन टुरिजम) र नेपाल पर्यटन बोर्डको सहकार्यमा विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाउन लागेका हुन् ।

    ‘पर्यटनलाई पुनःसंरचना गर्न डिजिटल एजेन्डा र आर्टिफिसियल इन्टेलिजन्स’ भन्ने नाराका साथ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा उक्त कार्यक्रम आयोजना गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभयो ।

    बागमती प्रदेश उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले साइकल र्‍यालीको आयोजना गरेको छ । उक्त मन्त्रालयले पाटन दरबार स्क्वायरबाट पुल्चोक, कुपण्डोल, माइतीघर, रामशाहपथ, जयनेपाल, नक्साल, हाँडीगाउँ, नारायणगोपाल चोक हुँदै होटल स्मार्ट धुम्बाराहीसम्म उक्त कार्यक्रम आयोजना गरेको मन्त्रालयका वरिष्ठ शाखा अधिकृत अम्बिक घिमिरेले जानकारी दिनुभयो ।  

    कार्यक्रममा बागमती प्रदेशका मन्त्री राजेन्द्र प्रजापति सहभागी हुनुभयो । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले आज काठमाडौँ दरबार क्षेत्र वसन्तपुरबाट ‘नेपाल निम्तो-नाट्टा सम्पदा दौड-२०२६’ आयोजना गरेको छ ।

    काठमाडौँ र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । दौड वसन्तपुरबाट सुरु भई विशालबजार, न्युरोड गेट, रत्नपार्क, सहिदगेट, थापाथली, साझा पेट्रोेल पम्प, लबिम मल हुँदै पाटन दरबार क्षेत्र पुगेको नाट्टाका अध्यक्ष भरतजङ्ग पाण्डेले जानकारी दिनुभयो । करिब छ किलोमिटरको उक्त दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, युवाको सहभागिता रहेको नाट्टाले जनाएको छ । 

    ‘पर्यटन क्षेत्रको समस्या समाधानमा प्रदेश सरकार प्रयासरत छ’
    
    बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशभित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागि रहेको बताउनुभएको छ । ४७औँ विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशभित्रका पर्यटन समस्या गहन ढङ्गले अध्ययन गरी यसको समाधानमा लागि रहेको बताउनुभएको हो ।

    मन्त्री प्रजापतिले बागमती प्रदेशको पर्यटनको विकासका लागि मन्त्रालय निरन्तर प्रयासरत रहेको बताउनुभयो । “बागमतीभित्रको पर्यटन, उद्योग र यातायात क्षेत्रको समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्ने छौँ ।” प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा काम गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।

    मन्त्री प्रजापतिले संस्कृति र प्रकृति नेपालको पर्यटन क्षेत्रको मुख्य आकर्षणको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच समन्वय हुन जरुरी रहेको उहाँको भनाइ छ ।

    मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले नेपाललाई विश्व पर्यटकीय केन्द्रका रुपमा विकास गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पर्यटन घुमफिरसँगमात्र नभई रोजगारी र अर्थतन्त्रलाई बलियो बनाउन जोडिएको विषय भएको उहाँले बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने क्रममा विभिन्न समयमा विभिन्न वाधा व्यवधानहरु आइपर्दा समस्या परेको सचिव सुवेदीले बताउनुभयो ।

    मन्त्रालयका सचिव अनिता निरौलाले वेलनेश पर्यटन र कृत्रिम बुद्धिमत्ता (एआई) लाई सँगै जोडेर अगाडि बढाएमात्र पर्यटन क्षेत्रबाट मुलुकले समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि बागमती प्रदेशले विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गर्नुभयो ।

    नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य सहदेव धमलाले बागमती प्रदेशले पर्यटक क्षेत्रमा ५२ अर्बभन्दा बढी क्षति व्यहोरेको बताउनुभयो । उक्त बाढीले १८५ होटल र ६५ रेष्टुरेण्ट र त्यस क्षेत्रमा काम गर्ने सयौँ मजदुर गुमाउनुपरेको उहाँको भनाइ छ ।  

    होटल सङ्घ नेपाल (हान) बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भोटेकोशी बाढीपछि नेपालको पर्यटनबारे अन्तरराष्ट्रियस्तरमा नकारात्मक सन्देश गएको भन्दै यसलाई चिर्न सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको मेरुदण्डका रूपमा रहेको होटल क्षेत्रलाई अगाडि बढाउन सरकारले विभिन्न प्याकेज ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

    पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले भोटेकोशी बाढीको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको बताउनुभयो । “विपद्का कारण पर्यटन व्यवसायी र यस क्षेत्रमा कार्यरत मजदुरलाई ठूलो असर पारेको छ”, उहाँले भन्नुभयो । विपद्पछि नेपालको पर्यटन सुरक्षित भएको सन्देश पर्यटन दिवसले दिएको उहाँले बताउनुभयो ।

    नेपाल एसोसियसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा) का पूर्वअध्यक्ष शिव अधिकारी, वर्ल्ड साइकिलिष्ट क्लब नेपालका पूर्वअध्यक्ष कपिल शाही, संस्कृतिविद सुदर्शनराज तिवारी, अर्जुनमणि दिक्षित, जलवायु विज्ञ ङमिन्द्र दाहाललगायतले नेपाल भित्रिने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक बागमती प्रदेशमा आउने भएकाले यसको विकास र विस्तारमा बागमती प्रदेश सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।

    पाटन दरबार क्षेत्रबाट पुल्चोक-कुपण्डोल-माइतीघर-रामशाहपथ-जयनेपाल सडक-नक्साल, टङ्गाल-बालुवाटार- नारायणगोपाल चोक हुँदै धुम्बाहारीसम्म साइकल र्‍याली गरिएको थियो ।