असोज १२, २०८३ सोमबार

ललितपुर, १२ असोज  : ललितपुरको गोदावरीमा पर्यटन प्रवर्द्धन तथा बाढीपहिरो प्रभावित परिवारको सहयोगार्थ यही असोज २३ र २४ गते दुईदिने महोत्सव हुँदैछ ।

आयोजक संस्था ‘क्रमशः इन्टरटेन्मेन्ट’ का प्रमुख सन्दीप महर्जनका अनुसार गोदावरीको पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय कला, संस्कृति, खानपान तथा उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक एवं सांस्कृतिक प्रस्तुति रहनेछ । गोदावरीमा उत्पादित कृषि उपज, स्थानीय हस्तकला, मौलिक खानाका परिकार तथा अन्य स्थानीय उत्पादनका विभिन्न स्टलहरूसमेत महोत्सवमा राखिने छन् ।

महोत्सवबाट सङ्कलन हुने रकम भोटेकोशी बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सहयोगको अभियानका रूपमा अघि बढाउन लागिएको महर्जनको भनाइ छ ।

गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले महोत्सवले गोदावरीको पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनसँगै विपद् प्रभावित परिवारलाई सहयोग गर्ने सामाजिक अभियानका रूपमा महोत्सवलाई अगाडि बढाइनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गर्नुभयो ।
---