असोज १६, २०८३ शुक्रबार

सनम सुवाल

बनेपा (काभ्रे), १६ असोजः काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रमा पर्ने चिसापानी डाँडामा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकारबाट बजेट सुनिश्चित भई त्रिपक्षीय सम्झौता सम्पन्न भएपछि यस परियोजनाको निर्माणका लागि औपचारिक बाटो खुलेको हो ।

प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र शैक्षिक गन्तव्यका रूपमा परिचित काभ्रेपलाञ्चोकको धुलिखेल अब खेलकुदको नयाँ केन्द्रका रूपमा समेत विकास हुने भएको छ । हरियाली डाँडाकाँडा, स्वच्छ वातावरण र रमणीय भूगोलका कारण पर्यटकीय पहिचान बनाएको धुलिखेलमा बन्ने यो रङ्गशालाले यहाँको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

लामो समयदेखि पर्याप्त पूर्वाधारको अभावमा सीमित हुँदै आएको हक्की खेलको विकासका लागि धुलिखेल नगरपालिका र काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिबीच द्विपक्षीय सम्झौता भएको छ । यस सम्झौतासँगै धुलिखेलमा हक्की खेलको व्यवस्थित प्रशिक्षण, प्रतियोगिता सञ्चालन र खेलाडी उत्पादनका लागि बलियो आधार तयार हुने विश्वास गरिएको छ । धुलिखेलस्थित नगरपालिकाको कार्यालयमा अस्ति बुधबार आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा धुलिखेल नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख निरान्न जंगम र काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले हस्ताक्षर गर्नुभएको छ ।

धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रस्थित चिसापानी डाँडामा निर्माण हुने उक्त स्टेडियमले वडा, पालिका र देशकै हित हुनेमा विश्वस्त रहेको वडा नं १२ का अध्यक्ष मोहनप्रसाद लामिछानेले बताउनुभएको छ । यसैगरी, काभ्रेपलाञ्चोक जिल्ला हक्की सङ्घका अध्यक्ष स्वस्तिक व्यञ्जुका अनुसार यो परियोजना जिल्ला कार्यसमिति र समग्र मुलुककै गर्वको विषय हो । परियोजना सम्पन्न गर्न सङ्घ र आफूले समेत सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यञ्जुले व्यक्त गर्नुभएको छ । 

सम्झौता अनुसार धुलिखेल नगरपालिकाले कानुन बमोजिम आफूले भोगचलन गर्न पाउने हकभित्रबाट खेलकुद पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनेछ । यसअघि पालिकाले नेपाल हक्की सङ्घसँग ४० वर्षका लागि अनुमति प्रदान गरिएको २०० रोपनी जग्गा कार्यपालिकाबाट निर्णय गरी यो परियोजना अघि बढाउने सम्झौता गरिएको थियो । विशेषगरी धुलिखेल नगरपालिका–११ र १२ को सिमाना क्षेत्रमा रहेको उपयुक्त जग्गामा हक्की खेलका लागि आधुनिक रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण गर्ने योजना अघि सारिएको हो ।

कार्यवाहक नगरप्रमुख निरान्न जङ्गमले धुलिखेललाई खेलकुदमैत्री पालिकाका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्यअनुसार हक्की रङ्गशाला निर्माणको योजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँले खेलकुद पूर्वाधारले स्थानीय युवालाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्नुका साथै धुलिखेलको सामाजिक, आर्थिक र पर्यटन विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

रङ्गशाला निर्माणका लागि बजेट व्यवस्थापन तथा पूर्वाधार विकासमा जिल्ला खेलकुद विकास समितिले आवश्यक पहल गर्ने भएको छ । समितिका अध्यक्ष मानवीर वाइवाका अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् तथा बागमती प्रदेशस्थित सम्बन्धित खेलकुद निकायहरूसँग समन्वय गरी परियोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गरिनेछ । “यो परियोजना धुलिखेलको मात्र नभई समग्र काभ्रेपलाञ्चोक र नेपाली हक्की खेलको विकाससँग जोडिएको विषय हो,” अध्यक्ष वाइवाले भन्नुभयो, “बजेट व्यवस्थापनदेखि पूर्वाधार निर्माणसम्म समितिले आफ्नो तर्फबाट सक्रिय सहयोग गर्नेछ ।”

आर्थिक वर्ष २०८३÷८४ मा राष्ट्रिय खेलकुद परिषद्मार्फत कार्यान्वयनमा लैजाने गरी सङ्घीय सरकारबाट तीन करोड रुपैयाँ बजेट छुट्याइएको छ । जिल्ला खेलकुद विकास समितिमार्फत सोही कार्य कार्यान्वयन गर्न तथा जिल्लास्थित कार्यालय र सङ्घलाई अनुगमनका लागि सहज होस् भनी आज यो सम्झौता गरिएको शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले जानकारी दिनुभयो ।

सम्झौतामा रङ्गशालाको प्रयोग बलम सञ्चालनसम्बन्धी विषयसमेत समेटिएको छ । राष्ट्रिय वा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिले धुलिखेल नगरपालिकासँग आवश्यक समन्वय गर्नेछ । प्रतियोगिता आयोजना नभएको समयमा भने अभ्यासका लागि नगरपालिकाले उक्त मैदान प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । काभ्रेपलाञ्चोक जिल्ला हक्की सङ्घका अध्यक्ष स्वस्तिक व्यञ्जुका अनुसार यसअघि नेपाल हक्की सङ्घ र धुलिखेल नगरपालिकाबीच २०८२ वैशाख २९ गते भएको द्विपक्षीय सम्झौतालाई समेत नयाँ सम्झौताको अभिन्न अङ्गका रूपमा राखिएको छ । यसले हक्की खेलको विकासका लागि यसअघि भएका सहमति र प्रयासलाई निरन्तरता दिँदै परियोजनालाई थप संस्थागत बनाएको उहाँले बताउनुभयो ।

धुलिखेल नगरपालिकाले अघि बढाएको ‘खेलकुदमैत्री पालिका’ बनाउने अभियानमा जिल्ला खेलकुद विकास समितिले पूर्ण ऐक्यबद्धता जनाएको छ । अभियानअन्तर्गत विद्यालय तथा वडास्तरदेखि जिल्लास्तरसम्म खेलकुद गतिविधि विस्तार गर्ने योजना रहेको छ । त्यसका लागि आवश्यक प्राविधिक तथा विज्ञ सहयोग जिल्ला खेलकुद विकास समितिले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

खेलकुदको विकासका लागि भौतिक पूर्वाधारसँगै दक्ष प्रशिक्षक, प्राविधिक जनशक्ति र नियमित प्रतियोगिता पनि उत्ति नै आवश्यक हुन्छ । यसैलाई ध्यानमा राख्दै विद्यालय तथा वडास्तरमा खेलाडी पहिचान, प्रशिक्षण र प्रतियोगिता सञ्चालनमा सहकार्य गरिने भएको छ । यसबाट स्थानीयस्तरमै प्रतिभावान खेलाडी पहिचान गरी उनीहरूलाई जिल्लास्तर, प्रदेशस्तर हुँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटकीय तथा शैक्षिक गन्तव्यका रूपमा स्थापित धुलिखेलमा खेलकुद पूर्वाधार थपिएसँगै यसको पहिचान अझ व्यापक बन्ने सम्भावना छ । खेलकुद प्रतियोगिता, प्रशिक्षण तथा राष्ट्रियस्तरका कार्यक्रम आयोजना हुँदा स्थानीय होटल, यातायात, व्यापार र पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न सक्नेछ । स्थानीय युवाको ऊर्जा, खेलाडीको सपना र संस्थागत सहकार्यलाई एउटै योजनामा जोड्दै अघि बढाइएको यो परियोजनाले धुलिखेललाई नेपालको खेलकुद मानचित्रमा उच्च स्थानमा स्थापित गर्ने अपेक्षा गरिएको छ । 
–––