काठमाडौँ, २० असोजः हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको छ ।
सङ्घले हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका क्रममा देखिन सक्ने लेक लाग्ने, पखाला, ज्वरोलगायत अन्य स्वास्थ्य समस्याबारे जानकारी लिन तथा उपचार सेवा प्रदान गर्न चिकित्सकको टोली परिचालन गरिएको जनाएको छ ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले मनाङ र सोलुखुम्बुको फेरिचेमा रहेका स्वास्थ्यचौकीमा स्वदेशी तथा विदेशी स्वयम्सेवी चिकित्सक तथा कर्मचारीको टोली पठाइएको जानकारी दिनुभयो ।
मनाङ स्वास्थ्यचौकीमा अष्ट्रेलियाका डा रोबर्ट जेम्स एडवार्ड डिक्सन र बेलायतकी डा भिक्टोरिया जेन रोबर्टसनसहित सहयोगी कर्मचारी परिचालन गरिएको छ । यस्तै, फेरिचे स्वास्थ्यचौकीमा बेलायतकी डा मेरी एबरक्रम्बी र अष्ट्रेलियाकी डा म्याथ्यु एलेक्स म्याकअल्पाइन सहितको टोली खटिएको छ ।
मनाङ र फेरिचे स्वास्थ्यचौकीमा चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने छ । स्वास्थ्यचौकी सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, स्वास्थ्य तथा स्वास्थ्य सेवा विभाग, श्रम विभाग, अध्यागमन विभाग, नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रकृति संरक्षण कोष, मनाङको निस्याङ गाउँपालिका तथा खुम्बु पासाङल्हामु गाउँपालिकाबाट समन्वय तथा सहयोग प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत बस्यालले बताउनुभयो ।
उहाँका अनुसार उक्त सेवा नोभेम्बरको अन्तिमसम्म सञ्चालन हुनेछ । सो अवधिमा स्वयंसेवी चिकित्सक तथा सहयोगी कर्मचारीसहितको टोली हिमाली क्षेत्रमा परिचालित रहनेछ ।