असोज २१, २०८३ बुधबार

काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि सभापति पदमा उम्मेदवारी दिनुभएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । 

    नेता राठौरले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी सङ्कटमा रहेको अवस्थामा वर्तमान सभापति गगनकुमार थापाले सहयोग गर्नुपर्र्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु ।”

    यसअघि मङ्गलबार अन्तिम उम्मेदवारी दर्ताको अन्तिम समयमा राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने उल्लेख गर्नुभयो । 

    नेता राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।रासस