असोज २४, २०८३ शनिबार

काठमाडौँ, असोज २४  नेपाली कांग्रेसका खुला तर्फका केन्द्रीय सदस्य पदका उम्मेदवार विद्वान गुरुङले १५औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

लोकतन्त्र, परिवर्तन र नयाँ नेतृत्वको उत्सवका रूपमा महाधिवेशनलाई लिँदै उम्मेदवार विद्वान गुरुङले इतिहास बोकेको पार्टीमा लोकतान्त्रिक विधि र पद्धतिअनुसार महाधिवेशन सम्पन्न हुनु सम्पूर्ण कांग्रेसजनका लागि गर्वको विषय भएको उल्लेख गर्नुभएको छ।

वडा तहदेखि क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशन प्रतिनिधिहरूले स्वतन्त्र रूपमा मतदान गर्न पाउनु नै लोकतान्त्रिक संस्कारको सुन्दर पक्ष भएको गुरुङको भनाइ छ। यही अभ्यास र विश्वासले नै नेपाली कांग्रेसलाई ऐतिहासिक पार्टीका रूपमा स्थापित गरेको उहाँले बताउनुभयो।

विशेष गरी नयाँ पुस्ता र जेन्जी (Gen Z) पुस्ताका ऊर्जाशील अनुहारहरूलाई नेतृत्वको मूलधारमा स्थापित गर्ने ढोका यस महाधिवेशनले खोलेको विद्वान गुरुङले दाबी गर्नुभयो। यो प्रक्रिया केवल नेतृत्व चयनमा मात्र सीमित नरही पार्टीभित्र पुस्तान्तरण, नवीन सोच र रूपान्तरणको स्पष्ट सन्देश भएको उहाँको ठम्याइ छ।

देश तथा विदेशबाट सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई जीवन्त बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै विद्वान गुरुङले भन्नुभयो, "यहाँहरूको सहभागिता, विश्वास, सद्भाव र लोकतन्त्रप्रतिको निष्ठाले मलाई थप जिम्मेवार, प्रतिबद्ध र जनताप्रति उत्तरदायी भएर अघि बढ्ने प्रेरणा दिएको छ।"

साथै, प्राप्त अमूल्य मत, सुझाव र विश्वासलाई सधैँ सम्मान गर्दै संगठन सुदृढीकरण, युवा सहभागिता र लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत विद्वान गुरुङले व्यक्त गर्नुभएको छ। नयाँ पुस्ताको नेतृत्वमा पार्टीमा आशा, विश्वास र परिवर्तनको नयाँ अध्याय सुरु हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ।