असोज २८, २०८३ बुधबार

बैङ्कक, २८ असोज  ः अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथि भएका पछिल्ला आक्रमणले क्षेत्रीय तथा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने बताउनुभएको छ । मध्यपूर्वमा बढ्दो तनाव र ऊर्जा मूल्यमा भइरहेको वृद्धिले विश्व अर्थतन्त्रसमक्ष थप चुनौती सिर्जना गरेको उहाँको भनाइ छ । बैंककमा जारी आईएमएफ र विश्व बैंकको वार्षिक बैठकका क्रममा बुधबार आयोजित पत्रकार सम्मेलनमा जर्जिएभाले साउदी अरब क्षेत्रीय तथा विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण देश भएकाले त्यहाँको अस्थिरताले अन्य मुलुकमा समेत असर पार्न सक्ने बताउनुभयो ।

पछिल्ला दिनमा साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व चर्किएको छ । यस क्रममा साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएका छन् । सप्ताहन्तमा रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको र विमानस्थलको सञ्चालन प्रभावित भएको विवरण सार्वजनिक भएको छ ।
यसैबीच, अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यबाट हुने आवागमनमा अवरोध सिर्जना गरेको थियो । त्यसपछि कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति र आर्थिक वृद्धिबारे चिन्ता थपेको छ ।

सन् २०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशत रहने अनुमान
आईएमएफले मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिको अनुमान ०.१ प्रतिशत बिन्दुले बढाएर ३.१ प्रतिशत पु¥याएको छ ।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा बढ्दो लगानीले आर्थिक गतिविधि विस्तार गर्न सहयोग पु¥याए पनि ऊर्जा लागतमा भएको वृद्धिबाट न्यून आय भएका तथा कमजोर अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको कोषले जनाएको छ ।

जर्जिएभाका अनुसार विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बाबजुद आफ्नो सहनशीलता कायम राखेको छ । यद्यपि, लगातारका आर्थिक धक्काले यस्तो सहनशीलतामाथि दबाब बढाइरहेको उहाँले बताउनुभयो। न्यून आय भएका मुलुकलाई आर्थिक संकट सामना गर्न सक्षम बनाउन थप सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

बढ्दो सार्वजनिक ऋणप्रति आईएमएफको चिन्ता
बढ्दो ब्याजदरका कारण सरकारहरूलाई ऋण व्यवस्थापन गर्न कठिनाइ भइरहेको आईएमएफले जनाएको छ । जर्जिएभाका अनुसार एक दशकअघि सरकारी राजस्वको करिब ६ प्रतिशत ऋण सेवामा खर्च हुने गरेकोमा अहिले उक्त अनुपात बढेर १४ प्रतिशत पुगेको छ । उहाँले सरकारहरूलाई राजस्व वृद्धि गर्न, खर्चको प्रभावकारी व्यवस्थापन गर्न तथा सार्वजनिक वित्तीय प्रणालीमा सुधार ल्याउन आग्रह गर्नुभएको छ ।
विश्वव्यापी आर्थिक असन्तुलन घटाउन चीनले आन्तरिक खर्च बढाउन, अमेरिकाले बचत वृद्धि गर्न र युरोपले लगानी विस्तार गर्नुपर्ने उहाँको सुझाव छ ।

कोभिड–१९ महामारी तथा युक्रेन र मध्यपूर्वका द्वन्द्वपछि विकसित अर्थतन्त्रहरूमा सार्वजनिक ऋणको भारसमेत बढेको छ । जर्जिएभाले सरकारहरूलाई ऋण नियन्त्रण गर्दै आर्थिक आधार सुदृढ बनाउन आग्रह गर्नुभएको छ । समयमै आवश्यक सुधार गर्न नसकिए नागरिक तथा व्यवसायले थप आर्थिक भार बेहोर्नुपर्ने उहाँले चेतावनी दिनुभएको छ ।