कात्तिक ५, २०८३ बिहिबार

फाइल फाेटाे

दमौली (तनहुँ), ५ कात्तिक : गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पु¥याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण सङ्कलन गरी आवश्यक पुनर्निर्माण र मर्मतका लागि सम्बन्धित कार्यालय तथा मन्त्रालयमा सिफारिस गरिएको छ । 

घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, पुलको ब्याकफिलिङ बगाउने, सडकमा चिरा पर्ने, खोलाले बस्ती जोखिममा पार्ने तथा कल्भर्टको संरचनामा क्षति पुग्ने समस्या देखिएका छन् । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको उहाँले बताउनुभयो । 

घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलाको पुलको ब्याकफिलिङ बगाएको छ । पुलको दुवैतर्फको सडकसँग जोडिएको भागमा क्षति पुग्दा आवागमनमा समस्या हुन सक्ने भएकाले मर्मत तथा पुनर्निर्माण आवश्यक देखिएको छ । उक्त संरचनाको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ ।

त्यस्तै, घिरिङ गाउँपालिका–३ स्थित भैरव मोटरमार्ग भासिएको छ । वर्षाका कारण सडकको भाग भासिएपछि सडकलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न मर्मतसम्भार आवश्यक देखिएको छ । उक्त सडकको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।

घिरिङ गाउँपालिका–१ स्थित ठूलोफेदी खोलाले बस्तीमा क्षति पु¥याउन सक्ने जोखिम देखिएको छ । खोलाको कटानका कारण बस्ती संरक्षणका लागि रिटेनिङ वाल निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सम्भावित क्षति न्यूनीकरण गर्दै बस्तीको सुरक्षा सुनिश्चित गर्न आवश्यक संरचना निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ ।

यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ । पुलको साइडमा क्षति पुग्दा संरचनाको सुरक्षामा असर पर्न सक्ने भएकाले आवश्यक मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

घिरिङ गाउँपालिका–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा पनि चिरा परेको छ । सडकमा चिरा परेपछि थप क्षति हुन नदिन र सडकलाई सुरक्षित बनाउन मर्मत तथा आवश्यक प्राविधिक जाँच गर्नुपर्ने देखिएको छ । उक्त सडकखण्डको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो । 

त्यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली बगाएको छ । खोलाको बहावले कल्भर्टको संरक्षण संरचनामा क्षति पु¥याएकाले आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ ।