कात्तिक ५, २०८३ बिहिबार

फाइल फाेटाे

राँझा (बाँके), ५ कात्तिकः बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको छ । 

    बिहीबार विहान करिब १ः३० बजे फलाम इन्जिनमा प्रयोग हुने तेल फर्नेस आयलको ट्याङ्कीमा विद्युत् लाइन सर्किट चुहावटसर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताउनुभयो ।

    उहाँका अनुसार, आगलागीबाट रु एक करोड ५६ लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली खटिएको थियो । 

    नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टाभित्र आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।