कात्तिक १३, २०८३ शुक्रबार

काठमाडौँ, १३ कात्तिकः नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आज आह्वान गरेको हो ।

    नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति यही कात्तिक ३० गते तोकिएको छ । बोलपत्र फारामको शुल्क रु ५० हजार निर्धारण गरिएको छ भने उक्त शुल्क फिर्ता हुने छैन । नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।

    यसैबीच, नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा भइसकेको छ । एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का गरिसकेका छन् । हाल लिगमा काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी छन् ।

    रङ्गशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एण्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।