रूपन्देही, १५ कात्तिकः रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री र वाटर डिस्पेन्सर प्रदान गरेको छ । साथै, पालिकाले डेस्क–बेन्च पनि वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने र विद्यालयले पनि सरकारी नीति तथा शैक्षिक मापदण्ड पालना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
सामुदायिक विद्यालयहरुलाई नियमित रुपमा पालिकाले आवश्यकताअनुसार सहयोग गरिरहेको राससलाई जानकारी दिँदै उहाँले शिक्षामा गरिएको लगानीको प्रतिफल विद्यार्थीको शैक्षिक उपलब्धि र विद्यालयको समग्र गुणस्तरमा देखिनुपर्नेमा जोड दिनुभयो ।
पालिकाले विद्यालयका निम्ति खानेपानी, फर्निचर तथा खेलकुद सामग्रीलगायत आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्दै शिक्षण एवं सिकाइलाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेको छ ।
–––