कात्तिक १६, २०८३ सोमबार

फाइल फाेटाे

नारायणगढ (चितवन), १६ कात्तिक  :  यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय आफ्नै भाषा, संस्कृति, रीतिरिवाज र रहनसहनका लागि परिचित छ । 

तर, सञ्चार तथा सूचना प्रविधिको पहुँच पर्याप्त नहुँदा कतिपय बस्तीका नागरिक अझै  टेलिफोन र इन्टरनेट सुविधाबाट वञ्चित छन् । यस्तो अवस्थामा समुदायलाई आफ्ना अधिकार, राज्यबाट प्राप्त हुने सेवा तथा सुविधाबारे जानकारी दिन र भाषा तथा संस्कृति संरक्षण गर्न आफ्नै रेडियो सञ्चालन गरिएको छ ।

चितवनको कालिका नगरपालिका–९, शक्तिखोरमा सञ्चालित सामुदायिक रेडियो आफ्नो एफएम ८७.६ मेगाहर्जले कालिका नगरपालिका, राप्ती नगरपालिका तथा इच्छाकामना गाउँपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई लक्षित गरी कार्यक्रम प्रसारण गर्दै आएको छ ।

स्थानीय भाषामा समाचार, जनचेतनामूलक कार्यक्रम, मनोरञ्जन तथा समुदायका हकहितका विषय प्रसारण गर्दै आएको रेडियो सञ्चारका अन्य माध्यमको पहुँच नभएका बस्तीमा सूचनाको महत्त्वपूर्ण स्रोत बनेको छ ।

प्रजा एकता उत्थान समाजद्वारा सञ्चालित उक्त रेडियो विसं २०७८ मा स्थापना गरिएको हो । चेपाङ समुदायको हकहित, अधिकार तथा आर्थिक र सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको समाजले सूचना अभावका कारण समुदायका नागरिक राज्यबाट प्राप्त हुने सेवा तथा सुविधाबारे जानकारी पाउनबाट वञ्चित भएको महसुस गरेपछि रेडियो सञ्चालनमा ल्याएको रेडियोका अध्यक्ष मङ्गल सिंह चेपाङले बताउनुभयो ।


उहाँले भन्नुभयो, “चेपाङहरू सूचना सम्प्रेषण, अधिकार र जनचेतनाका कुरामा पछि छौँ । राज्यबाट आउने सेवा सुविधाका बारेमा कतिपय सूचना अभावले गर्दा पछि परेको महसुस भयो । त्यस कारण हामीले विसं २०७८ मा चेपाङको आफ्नै रेडियो स्थापना ग¥यौँ ।” 

रेडियोले दैनिक १७ घण्टा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको सिंहले जानकारी दिनुभयो । सञ्चारका अन्य माध्यमको पहुँच नभएका बस्तीमा सूचना पुर्याउनु र चेपाङ समुदायलाई आफ्ना अधिकार तथा अवसरबारे सुसूचित बनाउनु रेडियोको मुख्य उद्देश्य रहेको छ ।  

उहाँले भन्नुभयो, “जहाँ फोन लाग्दैन, जहाँ इन्टरनेट चल्दैन, त्यस्ता ठाउँमा रेडियोमार्फत सूचना सम्प्रेषण गर्ने र चेपाङ समुदायलाई सूचनासम्बन्धी जानकारी दिने मुख्य उद्देश्य हो ।”

रेडियोले चेपाङ समुदायका हकहित, सामाजिक समस्या, जनचेतना र सांस्कृतिक पहिचानसँग सम्बन्धित विषयलाई प्राथमिकता दिँदै आएको छ ।  विशेषगरी कालिका नगरपालिकाका, राप्ती नगरपालिकाको माथिल्लो पहाडी भेग तथा इच्छाकामना गाउँपालिकाका चेपाङ बस्तीलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

रेडियोका स्टेशन म्यानेजर मदन चेपाङका अनुसार समुदायको विकाससँगै भाषा, परम्परा र सांस्कृतिक पहिचान संरक्षणलाई पनि रेडियोले प्राथमिकता दिएको छ । आफ्नै भाषामा प्रसारण हुने कार्यक्रम चेपाङ समुदायका स्रोताले रुचाउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो स्रोता आफ्नै समुदायका हुनुहुन्छ । उहाँहरूले रेडियोलाई रुचाउनुभएको छ । चेपाङ समुदायको विकासका निम्ति विभिन्न सूचना, समाचारसँगै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।” 

चेपाङ समुदायका मौलिक कथा, परम्परा र संस्कृतिको संरक्षणमा रेडियोले योगदान पुर्याएको मदनको भनाइ छ । समुदायमा प्रचलित कथाको अभिलेखीकरण तथा प्रसारण गर्नुका साथै चेपाङ समुदायको इतिहास र पहिचानबारे जानकारी दिने कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ‘चिनारी’ शीर्षकको कार्यक्रममार्फत चेपाङ समुदायको उत्पत्ति, ऐतिहासिक अवस्था र पहिचानका विषयमा जानकारी दिइन्छ । वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमा चेपाङ समुदायको अवस्थाबारे पनि कार्यक्रममार्फत चर्चा गरिन्छ ।

चेपाङ भाषामा समाचार तथा अन्य रोचक कार्यक्रम प्रसारण गर्दा समुदायका नागरिकले आफ्नै भाषामा सूचना प्राप्त गर्ने अवसर पाएको स्टेशन म्यानेजर मदनले बताउनुभयो ।

रेडियोले आगामी दिनमा मोबाइल एप्लिकेसन तथा इन्टरनेटको माध्यमबाट प्रसारण विस्तार गरी देशविदेशमा रहेका चेपाङ समुदायसम्म पुग्ने लक्ष्य राखेको  सिंहले बताउनुभयो । 

समुदायका समस्या उजागर गर्ने, अधिकारबारे सचेतना बढाउने तथा भाषा र संस्कृतिको संरक्षणलाई निरन्तरता दिने योजना रहेको उहाँको भनाइ छ । सूचना पहुँचको विस्तारसँगै चेपाङ समुदायको आवाज, अधिकार र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिँदै आएको रेडियोले मौलिक संस्कृति भावी पुस्तासम्म पुर्याउने तथा समुदायका समस्या सार्वजनिक गर्ने माध्यमका रूपमा काम भइरहेको बताइन्छ ।
---