कात्तिक १६, २०८३ सोमबार

महेन्द्रनगर, १६ कात्तिकः कञ्चनपुरको झलारी बजारकी १५ वर्षीया नामी लामिछानेको भारोत्तोलन खेलप्रतिको लगाव, मेहनत र समर्पण प्रेरणादायी छ । घरमा हुँदा इन्टरनेटको सहाराले भारोत्तोलन खेलप्रतिको रुचि बढाएकी किशोरी उनी भारोत्तलन प्रशिक्षण हलसम्म पुग्न थालेकी छिन् ।

    पछिल्लो पाँच महिनायता महेन्द्रनगरस्थित कबर्ड हलमा भारोत्तलन प्रशिक्षण लिइरहेकी आसन्न १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि नामी प्रयासरत छिन् । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट उनलाई महेन्द्रनगरस्थित भारोत्तलन प्रशिक्षणका लागि कर्बड हलसम्म पुग्न दैनिक ३६ किलोमिटर आवातजावत सार्वजनिक यातायातमार्फत गर्नुपर्छ ।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हुने जिल्ला छनोटको तयारीमा रहेकी लामिछाने दैनिक रु १०० बस भाडा तिरेर महेन्द्रनगर आउने गरेको बताउँछिन् । “युट्यूबमा भारोत्तलन हेर्दा धेरै रुचि भएर बुवाको प्रेरणाले झलारीबाट दैनिक प्रशिक्षणका लागि महेन्द्रनगर पुग्छु”, उनले भनिन्, “भारोत्तलनको खेलाडी बन्ने मेरो सपना भइसक्यो । सङ्घर्ष र लगनशीलताले सपनालाई पछ्याइरहेकी छु ।”

    दैनिक झलारी–महेन्द्रनगरको यात्रा गर्न सहज नभएपनि खेलप्रतिको लगावले हरेक कठिनाइलाई सहज बनाइदिएको लामिछानेको भनाइ छ । “बुवाचन्द्र लामिछाने पहिले यहीआएर जीम गर्नुहुन्थ्यो”, उनले भनिन्, “मेरो रुचि र बुवाको प्रेरणाले भारोत्तलनमा प्रवेश गरेको छु ।”

    झलारीको चन्द्रसूर्य बाल विद्यालयमा कक्षा–९ मा अध्ययनरत लामिछानेले पढाइलाई पनि खेलकुदसँगै अघि बढाएको बताउँछिन् । “अब भारोत्तलनलाई निरन्रता दिएर अघि बढ्छ । बरु यातायात समितिले बस भाडामा सहज गरिदिए आर्थिक रूपमा सहज हुने थियो”, उनले भनिन् ।

    यता कञ्चनपुरका भारोत्तलन प्रशिक्षक जीवन गौतमले प्रशिक्षणरत लामिछानेको बलियो इच्छाशक्तिसँगै प्रशिक्षणमा निकै मेहनत गरिरहेकी बताउनुभयो । “चार/पाँच वर्षयता भारोत्तलनमा नयाँ महिला खेलाडी आउने क्रम रोकिएको थियो”, उहाँले भन्नुभयो, “नामीले अहिले प्रशिक्षणमा हाम्रो उच्चस्तरको क्षमता देखाइसकेकी छिन् । खेलमा निरन्तरता भए राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरकै खेलाडी बन्नेसक्ने छनक देखिएको छ ।”

    प्रशिक्षक गौतमले भारोत्तोलन खेलप्रति उनको लगाव, मेहनत र समर्पण प्रेरणादायी रहेको बताउनुभयो । “नामीजस्ता खेलप्रति उच्चलगाव भएका खेलाडीलाई परिवार, समाज र राज्यकै सहयोग हुनुपर्छ”, उहाँले भन्नुभयो, “सफलताप्राप्तगर्न उमेर होइन, बलियो इच्छाशक्ति र निरन्तर प्रयास चाहिन्छ ।” उहाँले महेन्द्रनगरले यसअघि पनि एक दर्जन महिला खेलाडीलाई राष्ट्रियस्तरमा पुर्‍याइसकेको बताउनुभयो । लामिछानेको खेलप्रतिको समर्पण र मेहनत देखेर प्रशिक्षक गौतम उत्साही र आशावादी हुनुहुन्छ ।