कात्तिक १६, २०८३ सोमबार

काठमाडौँ, १६ कात्तिकः विभिन्न राजनीतिक दलका नेताहरूले चीनको विकास अनुभवबाट नेपालले स्थिरता, नीतिगत निरन्तरता, सुशासन र आर्थिक विकासका क्षेत्रमा भएका सकारात्मक कामबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

    नेपाल–चीन पार्टी तथा राज्य शासन अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित ‘चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक र नेपाल-चीन सम्बन्धमा यसको प्रभाव’ विषयक गोष्ठीमा उहाँहरूले चीनको दीर्घकालीन विकास योजना र शासन सञ्चालनको अभ्यास नेपालको सन्दर्भमा पनि उपयोगी हुने धारणा राख्नुभएको हो ।

    कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता क्रान्तिशिखा धितालले नेपाल-चीन सहकार्यलाई व्यापार, पर्यटन, प्रविधि र अनुसन्धानका क्षेत्रमा विस्तार गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता डा शोभाकर पराजुलीले राजनीतिक स्थिरता, नीतिगत निरन्तरता र भ्रष्टाचार नियन्त्रणलाई विकासको आधार बनाउनुपर्ने धारणा राख्नुभयो । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले चीनले नवप्रवर्तन, गुणस्तरीय विकास, आन्तरिक उपभोग र हरित विकासलाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपालले पनि विकासका राष्ट्रिय प्राथमिकतामा निरन्तरता दिनुपर्ने बताउनुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, पार्टीको आन्तरिक सुधार र सुशासनलाई प्राथमिकता दिनुपर्ने बताउँदै नेपाल-चीन सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता खुश्बु ओलीले आर्थिक आधुनिकीकरणसँगै नेपालको सांस्कृतिक पहिचान र सभ्यतागत मूल्यको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

    चीनको बेइजिङमा सन् २०२६ अक्टोबर २६ देखि २९ सम्म सम्पन्न उक्त पूर्ण बैठकमा पार्टीको आत्मशासनलाई पूर्ण तथा कठोर बनाउने विषयसम्बन्धी दस्तावेज र राजनीतिक ब्युरोको कार्य प्रतिवेदनमाथि छलफल भएको थियो ।

    पूर्ण बैठक सम्पन्न भएलगत्तै त्यसका आधिकारिक निष्कर्षको समीक्षा, तिनको महत्त्वको मूल्याङ्कन तथा नेपाल-चीनबीच व्यापार, सम्पर्क सञ्जाल, लगानी, पर्यटन, शिक्षा र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा सहकार्यको सम्भावित प्रभावबारे छलफल गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै फ्रेन्ड्स अफ सिल्क रोड क्लब, नेपालका वरिष्ठ सल्लाहकार तथा श्रीलङ्काका लागि नेपालका पूर्वराजदूत वासुदेव मिश्रले गोष्ठीलाई अध्ययन र संवादको मञ्चका रूपमा व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “यो अध्ययन र संवादका लागि आयोजना गरिएको गोष्ठी हो ।” 

    नेपालसँग आफ्नै संविधान, लोकतान्त्रिक प्रणाली र स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै उहाँले ती विषय नै छलफलका आधार भएको बताउनुभयो । नेपाल र चीनबीच सात दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले ऊर्जा, व्यापार, पर्यटन र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।