कात्तिक १८, २०८३ बिहिबार

रासस

महोत्तरी, १८ कात्तिकः दीपावली र छठ पर्व मुख्खैमा छन् । यी दुवै पर्व मिष्टान्न परिकार बनाइने÷खाइने पर्व हुन् । पर्वको यो परम्परा बुझेका महोत्तरीसहितका मिथिला क्षेत्रका उखु खेती गर्ने  किसान अहिले धमाधम उखु पेलेर मिठ्ठा (सख्खर) पकाउन व्यस्त छन् ।

    मिथिलामा खेतीकिसानी व्यवसायमा कात्तिकलाई ‘ते¥हौँ मास’ भनिन्छ । कात्तिक आम्दानी कम र खर्च बढी हुने बेला हुँदा यसलाई किसानी भाषामा पूर्वजले ‘ते¥हौँ मास’ भनेका भङ्गाहा–४ रामनगरका ६० वर्षीय गङ्गाराम महतो बताउनुहुन्छ ।

    “यसबेला धान भित्री सकेको हुँदैन, यसै बेला उखु, गहुँ र अरु चैतीबाली लगाउने तयारीको बेला पर्छ, मुख्य चाडवाड यसै बेला पर्छन्”, उहाँ भन्नुहुन्छ, “पैसो आउने स्रोत त्यति हुँदैन्, यही ‘ते¥हौँ मास’ को बेला दुईचार पैसा हेर्न पाउँ र चाडपर्व टार्ने खर्चको जोहो होस् भनेर उखु पेलेर मिठ्ठा बनाउन थालिएको हो ।” 

    बर्दिबास–७ प्रेमनगरका किसान रामअवतार महतो पनि अहिले उखु पेलेर मिठ्ठा बनाउने काममा व्यस्त हुनुहुन्छ । “अहिले दीपावली र छठले मिठ्ठाको माग उच्च छ, उपभोक्ताले गत वर्षको भन्दा हालसालै बनेको मिठ्ठा रुचाउँछन्, यसबेला भाउ पनि राम्रै पाइन्छ” उहाँ भन्नुहुन्छ, “त्यसैले अरु काम थाति राखेर अहिले मिठ्ठा बनाउन लागेका छौँ ।” अहिले राम्रो रङ्मा तयार भएको दानादार मिठ्ठा उपभोक्ताले घरमै आएर प्रतिकिलो रु १४० मा खरिद गर्ने गरेका उहाँको भनाइ छ ।

    महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका बस्तीमा सघन उखुखेती गरिन्छ । जिल्लाका चिनी उद्योग मङ्सिर अन्त्यतिरमात्र सञ्चालन हुन्छन् । त्यसैले किसान अन्य क्षेत्रबाट आम्दानी कम हुने कात्तिकमा खेतीपातीका लागि नगदको जोहो र चाडपर्व टार्न यसैबेला उखु पेल्नु परेको बताउँछन् ।

    “कात्तिक हामी किसानलाई खर्र्चको अभाव हुने बेला हो, यसैबेला दीपावली र छठजस्ता महत्वपूर्ण पर्व पर्छन्”, बर्दिबास–१२ का किसान विश्वनाथ सिंह भन्नुहुन्छ, “यसैले खेतीपातीको खर्च जुटाउन र चाडपर्व धान्न किसान अहिले उखु पेल्न थालेका हुन् ।” 

    अब लगालगी उखु र गहुँ खेतीका लागि खनजोत, बीउ खरिद र मलखादको व्यवस्थामा धेरै खर्च हुने हुँदा मुख्य रुपले त्यो जुटाउन अहिले चाडपर्वको मुखमा उखु पेल्नु परेको किसानको भनाइ छ । दीपावलीअघिदेखि उखु पेल्न थालेका किसान अब छठसम्मै यो काममा हुनेछन् । दीपावली र छठमा मिठ्ठाको माग निकै हुने गर्छ । यसबेलाको नयाँ मिठ्ठाले राम्रो बजार भाउ पाउनेहुँदा धमाधम उखु पेल्न थालिएको बर्दिबास–६ फुलबारीटोलका किसान रामचन्द्र महतोको भनाइ छ ।

    दीपावलीको खास परिकार सेल र छठका ठकुवा चिनीभन्दा मिठ्ठामा राम्रो हुने उपभोक्ता बताउँछन् । पछिल्ला दिनमा स्वास्थ्य सचेतना बढ्दै जाँदा गुलियोका लागि चिनी छाडेर मिठ्ठा रोज्ने उपभोक्ता ह्वात्तै बढेका छन् । त्यसैले उपभोक्ताको रोजाइमा मिठ्ठा पर्ने गरेको छ ।

    एक पटक रोपिएको उखुको दुई वर्षको बाली लिइन्छ । पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सख्खर बनाउँदै गरेका छन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टी कात्तिकमै तयार हुनेहुँदा किसान अहिले खुट्टी पेल्न थालेका  उखु  उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।

    मधेसका केही जिल्लामा चिनी उद्योगले क्रसिङ सुरु गरेपनि महोत्तरीमा भने बाँकी नै छ । प्रत्येक वर्षजसो हिउँद लागेपछि उखुको मूल्य निर्धारणसम्बन्धी टुङ्गो समयमा नलाग्दा किसान पिरोलिने गरेका छन् । कात्तिक मसान्तभित्रै सरकारले उद्योग र उखु उत्पादक किसानबीचको सहमतिबाट मूल्य निर्धारण गर्नुपर्ने भए पनि यसको सुनवाइ नभएको अध्यक्ष कुशवाहा बताउनुहुन्छ ।