कात्तिक १८, २०८३ बिहिबार

रासस

काठमाडौँ, १८ कात्तिकः प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिनुभएको छ । 

    प्रहरी प्रधान कार्यालयमा आज पदबहालीपश्चात् आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पार्नुभयो ।
 
    “विधिको शासन पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण बफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीबाट प्रदर्शन हुने अपेक्षा लिएको छु,” महानिरीक्षक केसीले भन्नुभयो ।
 
    उहाँले सङ्गठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारी एक ढिक्का भई नेपाल सरकार र आमनागरिकका अपेक्षाअनुरूप काम कारबाही अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
 
    राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उहाँले साङ्गठनिक र व्यक्तिगत रूपमा आमनागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउन निर्देशन दिनुभयो ।
 
    महानिरीक्षक केसीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गर्दै कल्याणकारी कार्य र प्रहरी कर्मचारीको कार्य वातावरणमा सुधारका प्रयास निरन्तर जारी राखिने बताउनुभयो ।
 
    “प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्तिविकास प्रणालीको प्रवद्र्धनलगायत विषयमा आवश्यक नीतिगत व्यवस्थाका लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिनेछ,” उहाँले भन्नुभयो ।
 
    गृहमन्त्री सुधन गुरुङबाट दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपश्चात् प्रहरी प्रधान कार्यालय पुग्नुभएका महानिरीक्षक केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानले स्वागत गर्नुभएको थियो ।
 
    त्यस क्रममा प्रहरी महानिरीक्षक केसीले हेडक्वार्टरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
     
    यसैबीच, महानिरीक्षक केसीको उपस्थितिमा आजै बसेको नीतिनिर्माण समितिको बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयनलाई थप मजबुत बनाउन विस्तृत सुरक्षा योजनाको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
–––