क्वालालम्पुर, २० कात्तिक (रासस/एएफपी) : मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान गर्न बाटो खुल्ने भएको छ । उहाँको पार्टी युनाइटेड मलेसियन नेसनल अर्गनाइजेसन (युएमएनओ) ले अदालतले तोकेको ५० लाख रिङ्गिट (करिब एक करोड २० लाख अमेरिकी डलर) जरिवाना शुक्रबार बुझाएपछि यस्तो सम्भावना बढेको हो ।
त्रिहत्तर वर्षीय पूर्वप्रधानमन्त्री नजिबलाई मलेसियाको सार्वभौम सम्पत्ति कोष तथा अहिले निष्क्रिय रहेको ‘वान मलेसिया डेभलपमेन्ट बर्हाद’ (१एमडिबी) मा भएको विश्वकै ठूलो वित्तीय हिनामिनामध्ये एकमा संलग्न रहेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।
युएमएनओले शुक्रबार बिहान क्वालालम्पुर उच्च अदालतमा जरिवाना भुक्तानीको सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक सहयोग सङ्कलन गर्न स्थापना गरिएको विशेष ‘नजिब रजाक सोलिडारिटी फन्ड’ खाता पनि औपचारिक रूपमा बन्द गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “यस प्रयोजनका लागि अब सर्वसाधारणबाट थप आर्थिक सहयोग सङ्कलन गर्नुपर्ने आवश्यकता छैन ।”
नजिबका सहयोगी अहमद लुत्फी अजहरले पनि जरिवाना बुझाइएको पुष्टि गर्दै अब नजरबन्दमा राख्ने प्रक्रियासँग सम्बन्धित स्थानान्तरण कागजात जारी हुने प्रतीक्षामा रहेको पत्रकारहरूलाई बताउनुभएको छ ।
मलेसियाका राजा सुल्तान इब्राहिमले गत सेप्टेम्बरमा नजिबलाई सशर्त माफी दिनुभएको थियो । जरिवाना बुझाएमा उहाँलाई बाँकी जेल सजाय घरमै नजरबन्दमा बसेर भुक्तान गर्न अनुमति दिने व्यवस्था गरिएको थियो ।
यसैबीच, नजिबको निवासतर्फ जाने सडकमा शुक्रबार दिउँसोसम्म प्रहरीले पहेँलो टेप र ट्राफिक कोन राखेर आवागमन नियन्त्रण गरेको एएफपीका पत्रकारले जनाएका छन् । सम्भावित भीड नियन्त्रणका लागि प्रहरीले गस्तीका सवारीसाधन र मोबाइल भ्यानसमेत परिचालन गरेको थियो । सडक प्रवेशद्वारनजिकै दुईवटा पाल पनि राखिएको थियो ।