कात्तिक २०, २०८३ शुक्रबार

ब्रसेल्स, २० कात्तिक (रासस/एएफपी): बेल्जियमले प्रहरीलाई निश्चित अवस्थामा अवैध आप्रवासीहरूलाई उनीहरूको घरभित्रै पक्राउ गर्न अनुमति दिनेगरी शुक्रबार एक कानून पारित गरेको छ । 

वामपन्थी दल र मानव अधिकार समूहहरूले यसको तीव्र आलोचना गरेका छन् । 

यो योजना धेरै वर्षदेखि बेल्जियममा चर्को बहसको विषय बनेको थियो । 

नयाँ कानूनअनुसार प्रहरीले अध्यागमन कार्यालयका कर्मचारीसहित बेल्जियममा रहन प्रतिबन्ध लगाइएका त्यस्ता व्यक्तिको घरमा प्रवेश गर्न वा जुन ठाउँमा उनी बसिरहेका छन् त्यहाँ खानतलासी गर्न सक्नेछन् ।

यस कानुनले  ‘निस्काशन आदेशको अधीनमा रहेका’ वा ‘सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा खतरा पु¥याउन सक्ने’ व्यक्तिहरूलाई लक्षित गरेको हो । 

घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट आदेश लिनुपर्नेछ ।
 
बेल्जियमका प्रवास मन्त्री एनेलीन भान बोसुइटले यस कानूनलाई ‘ऐतिहासिक’ बताउनुभएको छ । 

“यदि कुनै व्यक्ति हाम्रो समाजका लागि खतरा हो भने हाम्रा सेवाहरूले हस्तक्षेप गर्न सक्नुपर्छ”, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “‘अवैध आप्रवासीविरुद्धको चुडेल शिकार’ भएको आरोपलाई अस्वीकार गरिएको छ ।” 

मानव अधिकारवादी संस्थाहरूले यस कानूनको तीव्र विरोध गरेका छन् । यसले नागरिक स्वतन्त्रता र बेल्जियमको संविधान उल्लङ्घन गर्ने उनीहरूको भनाइ छ ।

“यो कानूनले अवैध रहनुलाई अपराधसँग गलत रूपमा जोडेको छ,” एमनेस्टी इन्टरनेशनल बेल्जियमले भनेको छ ।