कात्तिक २१, २०८३ शनिबार

रासस

हेटौँडा, २१ कात्तिक: बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आज हेटौँडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको बताउनुभयो ।

    प्रदेश प्रमुख देवकोटाले आलोचना लोकतन्त्रको सुन्दर पक्ष भए पनि त्यो तथ्यमा आधारित, रचनात्मक र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । डिजिटल प्रविधिको विकाससँगै गलत सूचना, भ्रामक समाचार र सामाजिक सञ्जालको दुरुपयोगका चुनौती बढेकाले पत्रकारितामा व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्व अझ महत्त्वपूर्ण भएको उहाँको भनाइ छ ।

    उहाँले पत्रकारिताको स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारसम्बद्ध संस्थाहरूलाई श्रमजीवी पत्रकारको हकहित संरक्षण र व्यावसायिक पत्रकारिताको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उहाँले चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।