जनकपुर, २१ कात्तिकः मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले दीपावली, भाइटीका तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख कर्णले आज शुभकामना सन्देश जारी गर्दै यी पर्वले सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले दीपावलीले अन्धकारमाथि प्रकाश र निराशामाथि आशाको विजयको सन्देश दिने तथा भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउने उल्लेख गर्नुभएको छ ।
त्यसैगरी, छठ पर्वले प्रकृति र जीवनप्रति श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै उहाँले यी पर्वले पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
विविधता, सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउँदै मधेस प्रदेशसहित समग्र मुलुकमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न पर्वहरूले प्रेरणा दिने उहाँको भनाइ छ ।
प्रदेश प्रमुख कर्णले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्दै उज्ज्वल भविष्य निर्माणका लागि सबैलाई एकताबद्ध हुन आह्वानसमेत गर्नुभएको छ ।