चितवन, २३ कात्तिक : चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् ।
स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताउनुभयो । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उहाँको भनाइ छ ।
नेपाल टेलिकम भरतपुरका कर्मचारी सुरेश अधिकारीका अनुसार छिट्टै भरतपुरकै चौकीडाँडामा समेत अर्काे टावर जडान भैसकेको र छिट्टै सञ्चालनमा आउने बताउनुभयो । त्यससँगै जिल्लाका विकट पहाडी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुग्ने उहाँले जानकारी दिनुभयो ।
---