कात्तिक २५, २०८३ बुधबार

कपिलवस्तु, २५ कात्तिकः कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् ।

भाइटीकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरङ्गी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिनुभएको थियो । उहाँले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिनुभएको थियो ।

चौधरीले विगत दुई वर्षदेखि बालगृहका बालकलाई भाइटीका लगाउँदै आउनुभएको छ । रगतको नाता नभए पनि बालगृहका बालकसँग आत्मीय सम्बन्ध स्थापित भएको उहाँले बताउनुभयो । “बालगृहका भाइहरूलाई सामूहिक रूपमा टीका लगाउन पाउँदा निकै खुसी लाग्छ”, उहाँले भन्नुभयो, “रगतको नाता नभए पनि यहाँका भाइहरूसँग कर्मको नाता जोडिएको छ ।”

एकैपटक धेरै भाइलाई टीका लगाउन पाउँदा आफूलाई भाग्यमानी महसुस हुने उहाँको भनाइ छ । चौधरीका आफ्नै एक दाइ र एक भाइ हुनुहुन्छ ।

बालगृहमा रहेका रोहन सुनारले दिदी बबिताको हातबाट टीका लगाउन पाउँदा खुसी लागेको बताउनुभयो । “आफ्नै दिदीसँग टीका लगाएजस्तो महसुस भएको छ”, उहाँले भन्नुभयो । बालगृहमा लालनपालन र शिक्षादीक्षासँगै चाडपर्व पनि पारिवारिक वातावरणमा मनाउन पाउँदा आफूहरू खुसी हुने उहाँले बताउनुभयो ।

बालगृहका प्रमुख रामप्रसाद अर्यालले बालकलाई विभिन्न चाडपर्वमा रमाइलोसँग सहभागी हुने वातावरण मिलाउँदै आएको बताउनुभयो । “हामीले भविष्यका कर्णधारलाई सकेसम्म राम्रो वातावरण प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो ।

बालगृहमा १८ वर्षमुनिका २९ बालक रहेका छन् । तीमध्ये पाँच जना भाइटीका मनाउन नजिकैका आफन्तको घर गएकाले बाँकी २४ जनाले बालगृहमै सामूहिक रूपमा भाइटीका मनाएका हुन् ।