कात्तिक २७, २०८३ शुक्रबार

काठमाडौँ, २७ कात्तिकः सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो । 

    सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफमा स्थान सुनिश्चित गर्ने दोस्रो टोली हो । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ । 

    आजको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाण्डुका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए । 

    बलिङतर्फ सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा स्कट कुग्लिन, फाबियन एलन र हेमन्त धामीले एक एक विकेट लिए । 

    त्यसअघि  कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको पारी खेले । जारी एनपिएलमा कप्तान ऐरीको यो पहिलो अर्धशतक हो ।

    यस्तै, काठमाण्डुविरुद्ध थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ काठमाण्डुका लागि जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए । आजै अर्को खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुँदै छ ।