कात्तिक २९, २०८३ आइतबार

रासस

कास्की, २९ कात्तिक: देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ । तराई-मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा बस्ने मधेस र तराईवासी नागरिकले भव्य भव्य रूपमा पर्व मनाएका हुन् । 

    पोखरामा आज साँझ भारी वर्षा भए पनि श्रद्धालुले पानीमा भिजेर सूर्यदेवको पूजाआराधान गरेका छन् । फेवाताल किनार केदारेश्वर मन्दिर परिसर, नदीपुरस्थित नारायणस्थान मन्दिर, भद्रकाली माछापोखरी र कालीखोलामा छठ पूजाका लागि छठ घाट निर्माण गरिएको थियो । छठ घाटमा टेन्ट र विभिन्न बत्ती तथा केराका बोटले सजाइएको थियो । 

    पोखरामा विगत २६ वर्षदेखि छठ पूजा गरिँदै आइएको नेपाल भारत व्यवसायी समितिका पूर्वअध्यक्ष अनिलकुमार गुप्ताले बताउनुभयो । सुरुमा केदारेश्वरमा मात्र पूजा गर्ने गरिएकामा पछिल्ला दिनमा सहभागी बढेसँगै अन्य स्थानमा समेत पूजास्थल थप गरिएको हो । उहाँका अनुसार चार वटा पूजास्थल मध्ये आफूलाई पायक पर्ने स्थानमा व्रतालुले पूजा गरेका छन् । 

    “छठ सूर्यदेव र छठी माताको उपासना गरी मनाइने धार्मिक पर्व हो । यस पर्वमा व्रतालुले उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा मनोकामना पूरा हुने विश्वासका साथ छठ व्रत बस्ने र पूजा गर्ने गरिन्छ”, गुप्ताले भन्नुभयो । 

    सूर्यको पूजा गर्दा पृथ्वीमा उत्पत्ति हुने जल, खाद्यान्न र फलफूल प्रसादका रूपमा अर्पण गर्ने गरिएको उहाँले बताउनुभयो । पोखरामा छठ पूजामा १५ हजार नागरिक सहभागी हुन गरेका पूर्वअध्यक्ष गुप्ताले जानकारी दिनुभयो । त्यसमा एक हजार जति व्रतालु हुने हुन्छन् । 

    छठ पूजाका लागि व्रतालुहरूबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गर्ने गरिएको केदारेश्वरमा पूजा व्यवस्थापनको काम गर्दै आउनुभएका भुनेश कुमारले बताउनुभयो । उहाँका अनुसार रोजगारी, पेसा तथा व्यवसायका कारण पोखरामा बसोबास गर्दै आएका तराई-मधेस समुदायका व्यक्तिलाई घर जान सम्भव नहुँदा यहीँ छठ पर्व मनाउन सहज होस् भन्ने उद्देश्यले पूजाको व्यवस्था गरिएको हो । 

    “छठ पूजा गर्न घर जान नसक्ने र नभ्याउनेहरूका लागि पोखरामै बसेर पूजा गर्ने व्यवस्था गर्दै आएका छौँ । यस वर्ष पनि भव्य रूपमा पर्व मनाउन चार स्थानमा पूजा भइरहेको छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ व्रत समाप्त हुन्छ”, भुनेशले भन्नुभयो ।

    छठ चार दिनसम्म मनाइने पर्व हो । पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन गरिन्छ ।