कात्तिक २९, २०८३ आइतबार

रासस

सुनसरी, २९ कात्तिक: सुनसरीका विभिन्न स्थानमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ ।

    जिल्लाको इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिधाम, सप्तकोशी नदी, बराहक्षेत्रको राजाबास, धरानका सर्दु, सेउती खोला, सुनसरी खोला, बूढीखोला तथा झुम्का चतरा नहरलगायतका नदी, खोला र जलाशयमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

    बिहानैदेखि व्रतालुले पूजाका सामग्री र फलफूल सजाएर जलाशयमा पुगेर पूजा आराधना गरेका थिए । छठका अवसरमा ठकुवा, भुसुवा, उखु, नरिवल, केरा, विभिन्न फलफूललगायत प्रसाद सामग्री चढाएर सूर्यको उपासना गरिएको थियो ।

    सुनसरी र मोरङको सिमानामा पर्ने बूढीगङ्गा-जमुना मुक्तिधाममा विगत ३६ वर्षदेखि व्यवस्थित रूपमा सामूहिक छठ पर्व मनाउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्णले बताउनुभयो । यस वर्ष देशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट श्रद्धालुहरू आएर छठ पर्व मनाएको उहाँले जानकारी दिनुभयो ।
    
    उहाँका अनुसार छठ पर्वलाई व्यवस्थित बनाउन १० वटा उपसमिति गठन गरी करिब १०० जना स्वयंसेवक परिचालन गरिएको छ । श्रद्धालुको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन, यातायात तथा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको उहाँले बताउनुभयो । पर्वका अवसरमा गत शुक्रबार नेपाली सेनाको ब्याण्डसहित कलशयात्रासमेत निकालिएको थियो ।

    मैथिली र भोजपुरी समुदायको प्रमुख पर्वका रूपमा रहेको छठ पछिल्लो समय धार्मिक तथा सांस्कृतिक महत्वसँगै सामाजिक एकता र सद्भावको पर्वका रूपमा विस्तार हुँदै गएको ब्राह्मण समाज सुनसरीका अध्यक्ष वासुदेव बरालले बताउनुभयो । छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो ।

    सूर्य र जल मानव जीवनका महत्वपूर्ण आधार भएकाले प्रकृतिप्रतिको सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा छठको विशेष महत्व रहेको उहाँको भनाइ छ । पहिले घरघरमा सानो कुण्ड बनाएर मनाइने छठ पछिल्लो समय सामूहिक रूपमा मनाउने प्रचलन बढेको उहाँले बताउनुभयो । 

    सुनसरीका विभिन्न स्थानका साथै धरानको सर्दु र सेउती खोलामा समेत सामूहिक रूपमा छठ मनाइएको छ । पहिले मैथिली र भोजपुरी समुदायमा बढी सीमित रहेको यस पर्वमा पछिल्लो समय अन्य समुदायका मानिसको सहभागितासमेत बढ्दै गएको उहाँले बताउनुभयो ।

    चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ । पहिलो दिन नहाय-खाय, दोस्रो दिन खरना विधि सम्पन्न गरी व्रतालुले निराहार व्रत सुरु गर्छन् । तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिएको थियो भने चौथो दिन अर्थात् भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको विधिवत् रुपमा समापन हुनेछ ।