कास्की, २९ कात्तिक: धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ परेको बेमौसमी वर्षाले समस्यामा पारेको छ । खेतमा काटेर सुकाउन राखिएको धान वर्षाका कारण जलमग्न भएपछि किसान चिन्तित बनेका छन् ।
पोखरामा आज साँझ परेको ठूलो वर्षाले काटेर खेतमै राखिएको धान भिजाएको हो । घाम लागिरहेका बेला एक्कासी वर्षा भएपछि धान भिजेर नोक्सान हुने चिन्तामा किसान छन् । पोखरा-१३ आर्वाका श्रीराम सिग्देलले कसेरी र सनुपदेली फाँटमा हिजो र आज काटेर राखेको धान पूरै पानीमा डुबेको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले हिजो र आज धान काटेका थिए ।
“घाम लागिरहेकाले पानी पर्ला भन्ने ख्याल गर्न सकिएन । अहिले २०-२२ मुरी फल्ने धान सबै काटेर राखेका थियौँ”, उहाँले भन्नुभयो । कसेरी, सनुपदेली, ढाव र ठूम्रीबोटलगायत क्षेत्रका किसानले काटेर खेतमा राखेको धान वर्षाले भिजाएको छ ।
पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा काटेर राखिएको धान भिजेको जानकारीमा आएको बताउनुभयो । अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा वर्षा हुँदा समस्या भएको उहाँले बताउनुभयो ।
“यतिबेला अधिकांश किसान जेठोबुढो धान थन्काउने तयारीमा थिए । यही समयमा पानी परेपछि धान खेतमै भिजेको छ । भोलिदेखि घाम लाग्यो भने त्यति धेरै क्षति नहुन सक्छ । तर, धान लामो समय भिजिरहे हकुवा हुने सम्भावना बढी हुन्छ”, कडरियाले भन्नुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा कास्कीको पोखरा विमानस्थलस्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी २५ दशमलव चार मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अझै हल्का वर्षा भइरहेको जनाएको छ ।