कात्तिक २९, २०८३ आइतबार

अम्मान, २९ कात्तिक (रासस/एएफपी): जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोलीकाण्डमा संलग्न तीन जनालाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ । यसैबीच, आक्रमणमा मारिएकाहरूप्रति शोक तथा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै देशभरका क्रिसमस उत्सव रद्द गरिएको छ ।

    गत अक्टोबर २३ मा दक्षिणी जोर्डनको काराक गभर्नोरेटस्थित हम्मुद गाउँको एक ग्रीक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह भइरहेका बेला बन्दुकधारीहरूले आक्रमण गरेका थिए । उक्त आक्रमणमा नौ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।

    अधिकारीहरूका अनुसार, आक्रमणपछि फरार भएका तीन जनालाई तीन दिनपछि पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जोर्डनका दुई दाजुभाइ र उनीहरूका एक नातेदार छन् । उनीहरू कट्टरपन्थी इस्लामिक विचारधाराबाट प्रभावित रहेको बताइएको छ ।

    जोर्डनको सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा राज्य सुरक्षा अदालतले चर्चमा आतङ्कवादी आक्रमण गर्ने तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ ।

    अदालतले उनीहरूलाई ज्यान जाने गरी आतङ्कवादी आक्रमण गरेको, हतियारसम्बन्धी कसुर गरेको, आतङ्कवादी गतिविधि गर्ने षड्यन्त्र रचेको तथा आतङ्कवादी सङ्गठनको विचारधारा प्रवद्र्धन गरेको अभियोगमा दोषी ठहर गरेको हो ।

    प्रतिवादीहरू हिरासतबाटै भिडियो सम्पर्कमार्फत बन्द इजलासमा उपस्थित भएका थिए । अदालत परिसरमा भने कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।

    यस आक्रमणले जोर्डनलाई स्तब्ध बनाएको थियो । मुस्लिम बहुल यस मुलुकमा क्रिश्चियन धर्मावलम्बीहरूको जनसङ्ख्या करिब तीन प्रतिशत छ ।

    जोर्डनका चर्च प्रमुखहरूको परिषद्ले आइतबार सबै क्रिसमस उत्सव रद्द गर्ने निर्णय गरेको जनाएको छ । आक्रमणको शोकमा रहेका समुदायको सम्मानमा यस्तो निर्णय गरिएको परिषद्ले बताएको छ ।

    परिषद्ले चर्चहरूलाई क्रिसमसका रूखलाई आशा, एकता र शान्तिको प्रतीकका रूपमा सजाउन तथा आक्रमणमा मारिएकाहरूको सम्झनामा मैनबत्ती बाल्न आग्रह गरेको छ ।

    पीडित परिवारका तर्फबाट मुद्दामा बहस गरेका वकिल आमेर हालासेहले अदालतको फैसलाले घटनाको गम्भीरता र आतङ्कवादी अपराधको प्रकृतिलाई प्रतिबिम्बित गरेको बताउनुभयो ।

    वकिलका अनुसार, अदालतले आक्रमणकारीहरूलाई हतियार बिक्री गरेको अभियोगमा अन्य दुई जनालाई पनि छ वर्षको कैद सजाय सुनाएको छ ।

    गोलीकाण्डपछि जोर्डनले सिरियामा रहेका आतङ्कवादी सङ्गठनहरूलाई लक्षित गरी सैन्य कारबाही गरेको थियो । उक्त कारबाहीमा २० भन्दा बढी जिहादी मारिएको जोर्डनले दाबी गरेको थियो । तर, यस घटनाले छिमेकी सिरियासँग छोटो समयका लागि कूटनीतिक तनावसमेत उत्पन्न गरेको थियो ।

    सन् २०१६ मा पनि काराकमा शृङ्खलाबद्ध आक्रमण भएका थिए । तीमध्ये अधिकांश घटनामा इस्लामिक स्टेट (आईएस) लाई जिम्मेवार ठह¥याइएको थियो । सबैभन्दा ठूलो आक्रमणमा सुरक्षा केन्द्र र प्रहरी गस्तीलाई निशाना बनाइएको थियो, जसमा १० जनाको मृत्यु भएको थियो ।