आबिदजान, २९ कात्तिक (रासस/एएफपी) :दक्षिणपूर्वी नाइजरमा दशकौँदेखि बसोबास गर्दै आएका महामिद जनजातिका हजारौँ अरब घुमन्तेलाई यस वर्षको अन्त्यसम्ममा देश छाड्न आदेश दिइएको छ । स्थानीय अधिकारीहरूले आइतबार यो जानकारी दिएका हुन् ।
नाइजरको सैन्य सरकारले महामिद समुदायका केही सदस्यले यस क्षेत्रमा सक्रिय जिहादी समूह बोको हरामलाई हतियार तथा अन्य सामग्री उपलब्ध गराएको आरोप लगाएको छ ।
डिफा क्षेत्रका एक उच्च अधिकारीका अनुसार, महामिद समुदायलाई सन् २०२६ डिसेम्बर ३१ भित्र आफ्नो मूल देश फर्किन निर्देशन दिइएको छ ।
घुमन्ते समुदायको मुख्य बसोबास रहेको डिफा क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि बोको हराम र यसको प्रतिद्वन्द्वी समूह इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आईएसडब्लुएपी) को हिंसा जारी छ ।
गत नोभेम्बर ८ मा गभर्नर महामादौ इब्राहिम बागाडोमाले महामिद समुदायका प्रतिनिधिहरूलाई देश छाड्न अन्तिम चेतावनी दिनुभएको थियो ।
यसअघि अप्रिलमा गृह मन्त्रालयले डिफा र छिमेकी जिन्डर क्षेत्रका गभर्नरलाई महामिद समुदायको बसोबासका कारण सुरक्षा चुनौती बढेको भन्दै उनीहरूलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । मन्त्रालयले समुदायका सदस्यको पहिचान गरी उनीहरूको नागरिकता प्रमाणित गर्ने कागजात खारेज वा फिर्ता लिनसमेत भनेको थियो ।
अधिकारीहरूले गत महिना महामिद समुदायले मात्र प्रयोग गर्दै आएका विद्यालय र खानेपानीका इनार बन्द गर्न पनि आदेश दिनुभएको थियो ।
महामिद घुमन्ते समुदाय सन् १९७० को दशकमा चाडको अबेचे क्षेत्रमा परेको खडेरीबाट विस्थापित हुँदै नाइजर आइपुगेको थियो । पछि चाड र सुडानका द्वन्द्वबाट भागेका समूह पनि त्यहाँ पुगेका थिए ।
चरन र पानीको अभाव तथा पशुधनको सङ्ख्या बढ्दै जाँदा स्थानीय बासिन्दा र घुमन्ते समुदायबीच पटकपटक हिंसात्मक झडप हुने गरेका छन् । सन् २०१८ मा भएका शान्ति सम्झौताले पनि क्षेत्रीय तनाव पूर्ण रूपमा कम गर्न सकेका छैनन् ।