सिन्धुपाल्चोक, २ मङ्सिरः चौतारा प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रवाह प्रभावित भएको छ ।
उक्त अस्पताल सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा चौतारामा रहेको छ । ५० शैयामा स्तरोन्नति भएको अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरे पनि आवश्यक विशेषज्ञ जनशक्ति नहुँदा अपेक्षाअनुसार सेवा दिन चुनौती थपिएको हो ।
अस्पतालमा आधुनिक भवन र उपचारका आवश्यक उपकरण भने पर्याप्त मात्रमा उपलब्ध छ । सिजेरियन, एपेन्डिक्स, हाडजोर्नीसम्बन्धी शल्यक्रियादेखि डायलाइसिससम्मका सेवा सञ्चालनमा छन् । दैनिक तीनभन्दा बढी शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । तर, उक्त सेवा सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ ।
चौतारा अस्पतालमा उपचाररत मनकुमारी खत्री ढाडको नसासम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ । उहाँलाई बस्न र उठ्नसमेत कठिनाइ छ । आवश्यक परीक्षण र विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध नहुँदा थप उपचारका लागि राजधानी जानुपर्ने हो कि भन्ने चिन्ता उहाँमा छ ।
अस्पतालमा एमआरआई सेवा उपलब्ध नहुनु र चिकित्सक फेरिइरहँदा पटक–पटक आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । तर, विशेषज्ञ चिकित्सकको निरन्तरता नहुँदा उपलब्ध सेवासमेत नियमित सञ्चालन गर्न समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा विशेषज्ञ चिकित्सकका लागि छ जनाको दरबन्दी रहे पनि हाल छात्रवृत्ति करारका एक जना विशेषज्ञ चिकित्सक मात्रै कार्यरत छन् । करारमा नियुक्त चिकित्सकले एक वर्षको अवधि पूरा गरेपछि अस्पताल छाड्ने गरेका छन् । नयाँ नियुक्तिका लागि विज्ञापन गर्दा समेत चिकित्सकको आवेदन नपर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीले बताउनुभयो ।
उहाँका अनुसार सेवा क्षेत्रभित्रका स्थानीय तहले विशेषज्ञ चिकित्सकका लागि आर्थिक सहयोग वा अनुदानको व्यवस्था गर्न सके जिल्लामै विशेषज्ञ सेवा नियमित बनाउन सहज हुनेछ । गत असारमा हाडजोर्नी विशेषज्ञको सरुवापछि तीन महिनासम्म उक्त सेवा अवरुद्ध भएको थियो । बालरोग विशेषज्ञका लागि समेत आवेदन नपरेको अस्पतालको भनाई छ ।
चिकित्सकलाई आकर्षित गर्न पर्याप्त आवासीय सुविधा र अतिरिक्त आर्थिक प्रोत्साहनको व्यवस्था नहुँदा जिल्लामा विशेषज्ञ चिकित्सक टिकाउन कठिन भइरहेको अस्पताल व्यवस्थापन समितिको निष्कर्ष छ । सरकारी तलब सुविधाले मात्रै विशेषज्ञ चिकित्सकलाई जिल्लामा आकर्षित गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विवेक भण्डारीले बताउनुभयो ।
जुगल, बलेफी, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नागरिक उपचारका लागि चौतारा अस्पताल आउने गरेका छन् । त्यसैले अस्पतालको सेवा प्रभावकारी बनाउन स्थानीय तहबीच सहकार्य र समन्वय आवश्यक रहेको व्यवस्थापन समितिको भनाई छ ।
---