मंसिर १०, २०८३ बिहिबार

काठमाडौँ, १० मङ्सिरः दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्री विधामा आज क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा फुल कोर्टतर्फ एपीएफले कर्णालीलाई ६७–१९, बागमतीले मधेसलाई ४३–५, कोशीले गण्डकीलाई ३३–७ र आर्मीले लुम्बिनीलाई ८०–२ अङ्कले पराजित गरे ।

खेलमा एपीएफकी डोमा तामाङले ११, बागमतीकी एलिशा कार्कीले १०, कोशीकी आस्था कुलुङ राईले नौ र आर्मीकी नौसिका लिम्बूले सर्वाधिक २४ अङ्क जोडे । फुल कोर्टको क्वाटरफाइनलमा एपीएफ र गण्डकी, सुदूरपश्चिम र लुम्बिनी, कोशी र नेपाल पुलिस तथा नेपाल आर्मी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, थ्री अन थ्रीमा एपीएफले कोशीलाई १२–५, कर्णालीले मधेसलाई १६–१, सुदूरपश्चिमले गण्डकीलाई ८–४ र नेपाल पुलिसले लुम्बिनीलाई ५–१ अङ्कले पराजित गरे । यस विधाको क्वाटरफाइनलमा आर्मीले गण्डकी, बागमतीले लुम्बिनी, सुदूरपश्चिमले एपीएफ तथा नेपाल पुलिसले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछन् । दुवै विधाका क्वाटरफाइनल खेल शुक्रबार हुनेछन् ।

टेनिसको महिला एकलमा प्रकृति सेमिफाइनलमा

त्यसैगरी, दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियाको गुलरियामा जारी टेनिसको महिला एकलतर्फ बागमतीकी प्रकृति श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्रकृतिले एपीएफकी समृद्धि महर्जनलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरिन् ।

पुरुष एकलतर्फ गण्डकीका प्रदीप खड्काले एनआरएनएका रेन्जेन लामालाई ६–४ र ६–२, नेपाल आर्मीका प्रणव खनालले बागमतीका प्रितम परियारलाई ६–१ र ६–०, गण्डकीका करनबहादुर थापाले आर्मीका राजवीर प्रधानलाई ६–४ र ६–२ तथा बागमतीका निसान श्रेष्ठले एनआरएनएका असभसम्राट हाडालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

महिला युगलतर्फ आर्मीका शिभाली गुरुङ र स्वस्तिकाको जोडीले एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती विकको जोडीलाई ६–१ र ६–० तथा बागमतीका प्राज्ञा मानन्धर र प्रकृति श्रेष्ठको जोडीले गण्डकीका आरुषी तुलाचन र आहाना शेरचनको जोडीलाई ६–० र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

मिश्रित युगलतर्फ गण्डकीका शक्ति शर्मा र आहानाको जोडीले सुदूरपश्चिमका महेन्द्रबहादुर साउद र आश्मि धामीको जोडीलाई ६–१ र ६–४ तथा आर्मीका स्वस्तिका र प्रणवको जोडीले एपीएफका देवआशिष रेउले र समृद्धि महर्जनको जोडीलाई ६–२ र ६–३ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरे ।