मंसिर १०, २०८३ बिहिबार

रौतहट, १० मङ्सिर: सीमा सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजको सहयोग र सहकार्य आवश्यक रहेको सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूले बताएका छन् ।

रौतहटको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा आज आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी बल’ विषयक अन्तरक्रियामा उनीहरूले सीमा सुरक्षाजस्तो संवेदनशील काममा स्थानीय बासिन्दाको सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

सीमानाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरीपैठारी, हातहतियार तथा खरखजाना कारोबार, मानव बेचबिखन र राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायको एकल प्रयास पर्याप्त नहुने भएकाले स्थानीय तह र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्ण्ॉप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रणमा स्थानीयको सहयोग जुटाउन अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।

रौतहटका सशस्त्र प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक चेतराज जोशीले प्राप्त कार्यादेशअनुसार सीमा सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त र विश्वसनीय बनाउन सुरक्षाकर्मीले स्थानीयबाट सूचना तथा सुझावको अपेक्षा गरेको बताउनुभयो ।

बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल र ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवीले सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा सीमानाकाबाट हुने अवैध गतिविधि नियन्त्रणका विषयमा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको थियो ।  छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीद्वारा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक अच्युत सुवेदी, बौधीमाई नगरपालिका–७ का वडाध्यक्ष नरेन्द्रकुमार सिन्हा, वडा नं ८ का पूर्वअध्यक्ष उपेन्द्रदास तत्मालगायत स्थानीय बासिन्दाको सहभागिता थियो ।